शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘ए मेरो हजुर २’ले आक्रामक व्यापार गरिरहेको छ। करिव ९० वटा हलबाट प्रदर्शन आरम्भ गरेको फिल्मको शुक्रबारको अकुपेन्सी ९० प्रतिशत बढी छ। शुक्रबार राजधानीका प्राय: हलहरु हाउसफुल थिए। सिंगल थिएटरसँगै मल्टिप्लेक्समा समेत दर्शकको उत्साहजनक छ। मोफसलमा पनि फिल्मले राम्रो व्यापार गरिरहेको छ।
लभस्टोरी जनारमा निर्माण भएको फिल्ममा सम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बँनियाको मुख्य भूमिका रहेको छ। दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको फिल्ममा यो जोडीलाई पनि खुबै रुचाइएको पाइयो। फिल्ममा सलोन बस्नेत, अम्बर सुवेदी लगायतका कलाकारको अभिनयले पनि प्रशंसा नै पायो।
शुक्रवारको विहानको शोमा गोपीकृष्ण मुभीजको ४ वटा हल हाउसफूल भएको थियो भने दिनभरका शोहरुमा पनि दर्शको उल्लेखनीय साथ थियो। यस्तै राजधानीका अन्य ठुला मानिने हल अष्टनारायण, गुण, गंगा, कलंकीमा पनि दर्शकको साथ उत्कृष्ट पायो। मल्टिप्लेक्समा पनि फिल्म सबैतिर हाउसफुल भएको छ। अझ भोलि शनिवार परेकाले पनि फिल्मको व्यापार झन उत्साहजनक हुने देखिन्छ।
नायिका झरना थापाको डेब्यु निर्देशनमा तयार भएको फिल्ममा सुनिल कुमार थापाको लगानी रहेको छ। ‘सुहाना इन्टरटेन्टमेन्ट’को व्यानरमा निर्माण भएको फिल्ममा सम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बँनिया, सलोन बस्नेत, अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तमाङ, अनुराग कुँवर लगायतको अभिनय रहेको छ।