झरना थापा डेब्यु निर्देशनमा तयार भएको फिल्म ‘ए मेरो हजुर २’ले बक्सअफिसमा रेकर्ड कायम गर्न सफल भएको छ। शनिबार फिल्मले देशभरबाट १ करोड ६० लाख ३० हजार ग्रस कलेक्सन गर्दै नयाँ रेकर्ड राखेको हो। आज सम्म कुनै पनि फिल्मले एक दिनमा यति ग्रस कलेक्सन गरेको थिएन। यसअघि ‘लूट २’ले एकै दिनमा डेढ करोडको कारोबार गरेको थियो। फिल्म वितरकले दिएको जानकारी अनुसार शनिबार राजधानीबाट ‘ए मेरो हजुर २’ले ८७ लाख ७५ हजार र मोफसलबाट ७२ लाख ५५ हजार कलेक्सन गरेको छ। शुक्रबार ७८ लाख ७१ हजार कलेक्सन गरेको फिल्मको दुई दिने जम्मा कलेक्सन २ करोड ३९ लाख १ हजार पुगेको छ।
दर्शकबाट उत्कृष्ट प्रतिक्रिया बटुलिरहेको ‘ए मेरो हजुर २’को ‘माउथ पब्लिसिटी’ राम्रो भएका कारण पनि व्यापारमा थप सहायता मिलेको छ। आइतबार पनि सार्वजनिक विदा परेकोले विहानीका शो प्राय: हाउसफुल छन्। ईदको विदा परेकाले पनि ‘ए मेरो हजुर २’को व्यापार उच्च नै रहने देखिन्छ।
‘सुहाना इन्टरटेनमेन्ट’को व्यानरमा सुनिलकुमार थापाको निर्माणमा तयार भएको फिल्ममा सम्राज्ञी राज्यलक्ष्मी शाह, सलिनमान बनियाँ, सलोन बस्नेत, अम्बर सुवेदी, अनुराग कुँवर, बुद्दी तामाङ, अनुभव रेग्मी, विल्सनविक्रम राई लगायतको अभिनय छ। ‘ए मेरो हजुर २’मा हरिहर अधिकारीको कथा रहेको छ भने समिप्याराज तिमल्सेनाले पटकथा तयार गरेका हुन्।