एक समय थियो, आर्यन सिग्देल भनेसी युवतीहरु लठ्ठै हुन्थे। उनको चकलेटी अनुहार र मिठो मुस्कान धेरैलाई आफु प्रति लालाहित गर्ने सुत्र नै बनेको थियो। जब आर्यन सिग्देलले अभिनय गरेको फिल्म प्रदर्शनको तयारीमा हुन्थ्यो, अर्यनको क्रेज गज्जबको देखिन्थ्यो। आर्यनको फिल्म सधै युवापुस्तामा बहुप्रतिक्षित जस्तै बन्थ्यो। तर समय बदलिसकेको छ।
अहिले अर्यनालई आफ्नो करियर जोगाउन हम्मे हम्मे परेको छ। उनि अभिनित पछिल्लो फिल्महरु लगातार फ्लप हुन थाले पछि उनलाई आफ्नो करियर जोगाउन गाह्रो भइरहेको छ। उनि अभिनित फिल्म ‘होमवोर्क’ गत वर्षको जेठमा प्रदर्शनमा आएको थियो। नम्रता श्रेष्ठसँग जोडी बाधेरा अभिनय गरेका अर्यनको उक्त फिल्मले राम्रो व्यापार गर्न सकेन। त्यस पश्चात उनि अभिनित कुनै फिल्म हलमा लागेको छैन।
करियरको सुरुवाती दिनमा हिट हिट फिल्म दिएका अर्यनले पछिल्लो समय अभिनय गरेको फिल्म ‘आवेग’, ‘नाइके’, ‘सुश्री’ लगातार फ्लप भए। लगातार फिल्म फ्लप भए पछि उनि फिल्मको पर्दामा पनि देखिन छोडिसकेका थिए। तर, अहिले उनि आफुलाई फिल्म नगरीमा भित्राउने नायिका रेखा थापासँग काम गर्दै छन्।
आर्यन सिग्देलले फिल्म ‘किस्मत’बाट आफ्नो अभिनय यात्रा सुरु गरेका थिए। जुन फिल्म ‘रेखा फिल्मस्’को व्यानरमा निर्माण भएको थियो। फिल्म हिट भयो। फिल्म हिट भएसँगै अर्यनको क्रेज पनि राम्रै देखियो। त्यस पछि आर्यन लगातार राम्रो राम्रो फिल्ममा अभिनय गर्दै गए। रेखा थापासँग धेरै फिल्ममा स्क्रिन शेयर गरेका आर्यन पछि रेखासँगै झगडा गर्न पुगे। करिव ८ वर्ष बोलचाल बन्द भएको यो जोडीले फेरी सँगै काम गर्दैछ।
रेखा थापाले निर्माण गर्न लागेको फिल्म ‘रुद्रप्रिया’मा आर्यन र रेखाले सँगै स्क्रिन शेयर गरेका हुन्। लगातार फिल्म फ्लप हुदै गएका अर्यनको करियर बचाउनको लागि ‘रुद्रप्रिया’ सफल हुनु पर्ने देखिन्छ। यो फिल्म सफल भएको खण्डमा मात्र आर्यनलाई फिल्म नगरीमा अझै पनि बिक्ने अभिनेताको रुपमा लिइन्छ। नत्र आर्यन पनि विस्तारै फिल्म नगरीबाट विस्तापित हुदै जानु पर्ने देखिन्छ। त्यसैले अर्यनको अबको करियर भने फिल्म ‘रुद्रप्रिया’को प्रदर्शन पश्चत मात्र निर्धारण गर्न सकिने छ। ‘रुद्रप्रिया’ कत्तिक २ गते बाट प्रदर्शनमा आउदै छ।