सोलो रिलिजको चर्चा पाएको फिल्म ‘छक्का पञ्जा २’ ले अब एकल रिलिज नपाउने निश्चित भएको छ । यसअघि नै सोहि मितिमा फिल्म ‘मेरो पैसा खोई’ प्रदर्शनको लागी मैदानमा आउन तयार भईसकेको छ । आईतबार उक्त फिल्मको ट्रेलर रिलिज भयो ।
छोटो समयमा गरिएको रिलिजको घोषणाका बीच निर्माण युनिटले उक्त फिल्मको ट्रेलर रिलिज गरेको हो । रिलिजको पाँच दिन पहिले बाहिर आएको ट्रेलरले कमेडी पाटोलाई जोड दिएको छ भने पैसाको जोड घटाउको सस्पेन्स पनि ट्रेलरमा समावेश छ । अभिनेत्री बर्षा राउतलाई फिल्ममा यौनकर्मीको भुमिकामा प्रस्तुत भएको झल्को ट्रेलरले पेस गरेको छ । लिड कलाकारहरु बर्षासँगै सौगात मल्ल, रविन तामाङ, बुद्धि तालाङ, सागर तिवारी, कमलमणी नेपाल, प्रमोद अग्रहरी, जैना कुवंर, ईष्टु कार्की लगायत ट्रेलरमा फिचरिङमा छन् ।
रोज राणाले फिल्मलाई निर्देशन गरेका हुन् । भारतिय निर्देशक विवेक शर्मालाई छायांकनको क्रममा परेको लफडापछि रोज राणाले सेटबाट नै ‘आउट’ गर्दै निर्देशनको जिम्मा आफैले लिएका थिए । ‘जय परशुराम’पछि उनको यो दोश्रो निर्देशकिए फिल्म हो । राजधानीमा असोज ११ मा रिलिज हुने फिल्म मोफसलमा भने २० गतेबाट प्रदर्शनमा आउने बताईएको छ । राजधानीमा सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस् ले र मोफसलमा एफडी कम्पनिले यो फिल्मको वितरण अधिकार लिएको छ ।