मुम्बई(एजेन्सी) । दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्त र बलिउडका स्टार अक्षय कुमार एकापसमा हिरो र भिलेन बनेको फिल्म ‘२.०’ बलिउडकै सर्वाधिक प्रतिक्षित फिल्म हो । यो सन् २०१० को फिल्म ‘रोबोट’को सिक्वेल हो । उच्च भीएफएक्स र फिल्म निर्माणमा गरिएको करोडौं लगानीले पनि यो फिल्म कस्तो बनेको छ भन्ने कल्पना कसैले गर्न सकेका छैनन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्मको लगानी ४ सय करोडबाट उकालो लागिसकेको छ । भारतीय फिल्मको इतिहासमा सर्वाधिक लागतमा बनेको फिल्ममा अहिले यो नै एक्लो भएको छ । यो फिल्म ३ सय देखि ३ सय ५०करोडको लागतमा बनिरहँदा अहिले पुनः ५० करोड बजेट बनेको छ । यो बजेटसँगै फिल्मले ‘बाहुबली’को निर्माण लागतको रेकर्ड पनि तोडेको छ । प्रभाष अभिनित फिल्म ‘बाहुबली’ ३ सय करोडको लगानीमा बनेको थियो ।
रजनीकान्तको अघिल्लो फिल्म ‘रोबोट’ले पनि बक्स अफिसमा ब्लकब्लष्टर साबित गरेको थियो । अक्षय कुमारलाई भिलेनका रुपमा प्रस्तुत गर्न लागेको फिल्म पनि बलिउडमा सर्वाधिक प्रतिक्षित फिल्मको सूचीमा छ ।