दाङ । ‘ए मेरो हजुर २’ निर्देशन गरेर डेब्यु निर्देशित फिल्मबाट सफलताको स्वाद चाखेकी झरना थापाले नयाँ फिल्म ‘भागवत गीता’ निर्माणको घोषणा गरेकी छन् । चलचित्र पत्रकार संघ दाङले आयोजना गरेको सात्क्षाकार कार्यक्रममा उनले हाल फिल्मको वर्कसप भइरहेको र यो वर्षको अन्त्य तिरबाट फिल्म फ्लोरमा जाने खुलाइन् । उनले ‘ए मेरो हजुर –२’ ले व्यावसायिक सफलता हात पारेपछि दर्शक र फिल्म वितरकले तेस्रो सिक्वेल बनाउन आग्रह गरेपछि हाल तेस्रो सिक्वेल र ‘भागवत गीता’को काम एकसाथ अघि गइरहेको बताइन् । ‘तर कुन फिल्म पहिला बन्छ त्यसको टुंगो अहिलेसम्म लागेको छैन ।’ उनले भनिन् ।
यस्तै झरनाले फिल्म स्टारले नभएर स्टोरीले चल्ने बताइन । फिल्ममा स्टार राखेर फिल्म चल्छ भन्ने सोच र प्रयोग पुरानो भइसकेको भन्दै अहिले फिल्म हेर्ने दर्शक र फिल्म बन्ने तरिकामा पहिलेको भन्दा धेरै परिवर्तन आइसकेको बताइन। कुनै समयमा नेपाली सिनेमा उद्योगमा एकछ्त्र राज गरेका केही स्टारले निर्माण , निर्देशन र अभिनय गरेका फिल्म अहिले असफल भएको भन्दै फिल्मको स्टोरी राम्रो छ र त्यसलाई निर्देशकले राम्रो संग प्रस्तुत गर्नसकेको छ भने फिल्ममा नयाँ कलाकार राखेर पनि फिल्मलाइ सफल बनाउन सकिन्छ भन्ने उदाहरण पछिल्लो आफ्नो फिल्मले दिएको बताइन् ।
चलचित्र पत्रकार संघ दाङका अध्यक्ष ध्रुवराज न्योपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्देशक झरनाले दाङ जिल्लामा पनि फिल्म छायांकनका लागि धेरै उपयुक्त पर्यटकीय, धार्मिक र रमणीय ठाउँ भएको भन्दै सम्भव भएसम्म आफ्नो आगामी फिल्मका केहि दृश्य दाङमा पनि खिचिने र अन्य फिल्म निर्माताहरुलाई पनि दाङमा फिल्म छायांकनको लागि प्रोत्साहित गर्ने बताइन् । साथै दाङ जिल्लामा फिल्म निर्माणको लागि धेरै राम्रा ठाउँ भएकाले दाङलाइ फिल्म सिटिको रुपमा विकास गर्नुपर्ने कुरालाई पनि निर्देशक झरनाले विशेष जोड दिइन । चलचित्र पत्रकार संघ दाङका कोषाध्यक्ष शिव पुनको स्वागत मन्त्व्य बाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव सन्तोष केसीले गरेका थिए ।