कात्तिक २ गतेबाट रिलिज हुन लागेको फिल्म ‘रानी’लाई लिएर पुराना निर्देशक दयाराम दाहाल निकै आशावादी छन् । पत्रकार भेटघाटका क्रममा फिल्मको बारेमा धेरै कुरा गरेका दयारामले आफू पनि समयसँगै परिवर्तन भएको बताए ।
उनले यो फिल्म, शिर्ष पात्र ‘रानी’को वरिपरी घुमेको सुनाए । एउटा उत्कृष्ट लभ स्टोरीलाई अहिलेको जेनेरेशन अनुसार तयार पार्ने कोशिश गरेको बताउँदै दयारामले दर्शकले मनपराएको खण्डमा यही बाटोमा हिड्ने बताए ।
फिल्मको प्रचारमा खासै नदेखिएका अभिनेता अनुपविक्रम शाहीले आफू विदेश भएकाले कार्यक्रममा देखिन नपाएको बताए । उनले, आफ्नी पूर्व प्रेमिका मलिना जोशीको कारण आफू प्रचारमा नहिडेको भन्ने कुरालाई पनि नकारे ।
फिल्मबाट दुई अभिनेता नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दैछन् । नव–अभिनेता सारुक ताम्राकार र मनिषकुमार श्रेष्ठले पनि फिल्म निकै राम्रो बनेको भन्दै यसले आफूहरुको करिअर तय गर्ने सुनाए । फिल्मका निर्माता भानु महर्जनले लगानी एक करोड माथि भएपनि उठ्नेमा ढुक्क रहेको बताएका थिए ।