अभिनेत्री शिल्पा पोखरेल निर्माता छविराज ओझाको क्याम्पकी भनेर चिनिन्छिन् । हुनपनि, शिल्पाले छविराज ओझाको ब्यानर भन्दा बाहेक अन्य ब्यानरमा काम गरेका फिल्म चलेका छैनन् । तर, पनि शिल्पाले बाहिरी ब्यानरमा काम भने गर्न छाडेकी छैनन् ।
उनै, शिल्पा अब एक कृतिमाथि बन्न लागेको फिल्ममा अनुवन्धित पनि भएकी छिन् । यो फिल्मको काठमाण्डौमा शुभसाइत गरिएको छ । नेपालमा कृतिमाथि बनेका फिल्मलेन्याय गर्न नसकेको अवस्थामा शिल्पा एउटा जोखिम मोल्न तयार देखिएकी छिन् । शिल्पाले शिर्ष भूमिकामा काम गर्न लागेको फिल्मको नाम ‘आर्या’ राखिएको छ ।
श्री तिमिल्सिना फिल्म प्रोडक्शनको ब्यानरमा बन्न लागेको यो फिल्ममा उपेन्द्र तिमिल्सिनाको निर्देशन रहनेछ ।
धर्मराज श्रेष्ठले लगानी गर्ने फिल्म भित्र शिल्पाका अलवा अनुपविक्रम शाही, रवि गिरी, सुशिल पोखरेल, गीता अधिकारी, निरञ्जन शर्माको पनि मुख्य भूमिका हुनेछ ।
दिव्यराज सुवेदीको छायांकन, राम सिटौलाको संगीत रहने फिल्मलाई काठमाण्डौ र काठमाण्डौ बाहिरका विभिन्न स्थानमा खिचिनेछ । फिल्मले नेपाली नारीमाथि राणा कालमा भएको यौन अपराधको घटनालाई गम्भिर रुपमा उठान गर्ने बताइएको छ ।