सोमबार काठमाण्डौमा २ वटा फिल्मको घोषणा गरियो । एउटा फिल्म थियो, ‘सत्रु गते’ अर्को फिल्म थियो ‘कोहलपुर एक्सप्रेस’ । यी दुबै फिल्ममा अभिनेत्रीको रुपमा प्रियंका कार्कीलाई दर्शकले देख्न पाउनेछन् ।
प्रियंका ‘सत्रु गते’को घोषणा समारोहमा आइनन् भने ‘कोहलपुर एक्सप्रेस’मा केकीसँग अंगालिदै गफिइन् । यी दुबै फिल्मको छायांकन एकसाथ हुँदैछ । यसको अर्थ, प्रियंकालाई भ्याई न्भ्याई रुपमा समयको व्यवस्थापन गर्नुपर्नेछ ।
अहिले अभिनेत्री प्रियंका कार्की अफर आएका सबै फिल्ममा काम गरिरहेकी छिन् । फिल्म मात्र होइन, उनी म्यूजिक भिडियोमा पनि अफर आएसम्म गरिदिन्छिन् । अब, त उनले लोकगीतमा समेत नृत्य गर्न भ्याइन् ।
आमा, छोरी होस् या हिरोइन, सबै खालका भूमिका उनका लागि फिट छ । यसको अर्थ, प्रियंका अहिले अफर आएका सबै फिल्म गर्ने मुडमा छिन् । नेपाली फिल्ममा नयाँ नयाँ अभिनेत्रीको आगमन र चर्चा भैरहेको समयमा प्रियंका भने चर्चा पाएको समयमा नै पैसा कमाउने धुनमा लागेकी छिन् । हुनत, यस्तो सोच प्रियंकाको मात्र होइन, धेरै नेपाली फिल्ममा अभिनेता र अभिनेत्रीमा आएको पाइन्छ ।