आखिर, नेपाली फिल्मका कलाकारले अफर आएका सबै फिल्ममा काम गरेर पैसा मात्र हेर्दा दर्शक अब झुक्किने अवस्था आएको छ । अहिले त दर्शकलाई कलाकारको फिल्म कतिबेला रिलिज हुन्छ र जान्छ पनि थाहा नहुने अवस्था आएको छ । यो सूचीमा अभिनेता सौगात मल्ल पनि पर्छन् । जसका फिल्म हलमा यसरी लागेका छन् कि, दर्शक पनि दोधारमा पर्न थालेका छन् ।
अभिनेता सौगात मल्ल अभिनित फिल्म ‘मेरो पैसा खोई’ असोज ११ गते रिलिज भएर पूर्ण रुपमा असफल भैसकेको छ । उनै, सौगातको त्यसको करिब डेढ महिनापछि फिल्म ‘फाटेको जुत्ता’ रिलिज हुँदैछ । यो फिल्म त्यस्तो गतिलो चर्चा पाउन सकेको छैन । फिल्मका निर्माता अर्जुन कुमार युटुबमा ५० लाख भन्दा बढी पटक गीत हेरिएको भन्दै दंग छन् । तर, युटुबमा गीत केही लाख हेरिएका फिल्म असफल भएका छन् ।
अहिले हलमा झनै दर्शक झुक्किने अवस्था आएको छ । हलमा सौगात अभिनित दुई फिल्म ‘फाटेको जुत्ता र झ्यानाकुटी’को ट्रेलर बज्छ । यी दुई फिल्मको ट्रेलर मेकिङको स्टाइल एउटै छ । दुबै फिल्ममा सौगात भएकाले पनि दर्शक अलमलमा परेका छन् । दुबैमा कमेडीलाई महत्व दिइएको छ । यसैले, सौगात हलमा दोहोरिदा दर्शक अलमलमा परेका छन् । यही कारणले दुबै फिल्मलाई घाटा लाग्ने देखिएको छ ।