सिनेखबर डटकम, एउटा स्टार कलाकारले अभिनय गरेको चलचित्र हेर्न दर्शकहरुको भिड सिनेमा घरहरुमा राम्रै लाग्ने गर्छ । दर्शकहरुले जसलाई आफ्नो स्टार कलाकार मान्छन् उनीहरुको चलचित्र हेर्न दर्शकहरु जसरी पनि हलसम्म जाने गर्छन । तर उही स्टारले निर्माण गरेको चलचित्र हेर्न दर्शकहरु हलसम्म किन जादैंनन् ? यो अहिलेको बहसको विषय बनेको छ ।
गएको बर्ष बलीउडमा पनि सलमान खानले चलचित्र ‘हिरो’ बनाए तर चलचित्रले खासै कमालको व्यापार गरेन । चलचित्रले आफ्नो लगानी सुरक्षित गरेपनि जुन अनुसार सलमानले चलचित्र हिरोबाट अपेक्षा गरेका थिए त्यो अनुसार चाहिँ ‘हिरो’ले व्यापार गर्न नसकेको सत्य हो । सलमान खानले अभिनय गरेका चलचित्रले ३ सय करोडसम्म कमाउदा उनले निर्माण गरेको चलचित्र ‘हिरो’ले भने ५० करोड पनि कमाउन सकेन ।
यसबाट पनि धेरै कुरा थाहा हुन्छ कि स्टार कलाकारहरुले निर्माण गरेको चलचित्र हेर्न दर्शकहरु हलसम्म जाने गर्दैनन् । नेपालमा पनि यो शुक्रबार त्यस्तै भयो । चार सुपरहिट चलचित्र दिएका नायक अनमोल केसीले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ पनि फ्ल्पको सूचीमा परेको छ । गएको शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘म त तिम्रै हुँ’ले प्रदर्शनमा आएको शुक्रबार र शनिबार केही आशलाग्दो व्यापार गरेपनि त्यसपछि भने चलचित्रले दैनिक ५० हजार कमाउन पनि सकेको छैन ।
अनमोल केसीले निर्माण गरेको भनेपछि दर्शकहरुको भिड सिनेमा घरमा लाग्ने जुन सोच निर्माणपक्षको थियो त्यो अन्तत फ्ल्प सावित भएको छ । अनमोल केसीकी आमा सुस्मिता केसीले अनमोल क्रियशनको नाम दिँदै चलचित्र ‘म त तिम्रै हुँ’ निर्माण गरेकी थिइन । चलचित्रमा अनमोल केसीको अभिनय नभएका कारणले गर्दा पनि अनमोलका फ्यानहरु हलसम्म जान उचित ठानेनन् । आकाश श्रेष्ठ, ज्योत्सना योगी, अनुपम श्रेष्ठ, सुसन खड्का, सुस्मिता केसी लगायतका कलाकारहरुको अभिनय रहेको यो चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।