फिल्म खिच्नका लागि यूरोप पुगेका छायांकार लुकेपछि अहिले ‘होलिडे’ यूनिट तनावमा परेको छ । फिल्मको छायांकन करिब १ महिना गरेपछि छायांकार दिनेश कुमार राई हराएका छन् । उनी, शनिबारदेखि निर्माण यूनिटको सम्पर्कमा छैनन् । दिनेश यूरोपमा लुकेपछि यसको निर्माण यूनिटले प्रहरीमा समेत उजुरी दिइसकेको छ ।
शुक्रबार राती फिल्मको छायांकन सकेपछि दिनेश शनिबार चक्लेट किन्न जान्छु भन्दै निस्किएका थिए । तर, चकलेट किन्न निस्किएका उनी अहिलेसम्म फर्किएका छैनन् । उनले आफ्नो लगेजबाट आवश्यक कागजपत्र र पासपोर्टमात्र लगेका छन् । उनको कपडा भने निर्माण यूनिटसँगै छ ।
दिनेशसँग अब १५ दिनको मात्र भिसा बाँकी छ । यसपछि, उनी पूर्ण रुपमा गैह्रकानुनी हुनेछन् । उनी लुकेर पोल्याण्ड पुगेको हुनसक्ने आशंका गरिएको छ । निर्देशक बसन्न निरौला भने ५ तारिखमा नेपाल आउँदैछन् । कलाकार र प्राविधिकको टोली भने नेपाल आइसकेको छ । गौरव पहारि, वुद्धि तामाङ, पवित्रा आचार्य लगायतका कलाकारको यो फिल्ममा मुख्य भूमिका छ ।