अहिले, नेपाली फिल्मले नेपालबाटै लगानी उठाउन त्यती सजिलो छैन । नेपालबाट लगानी उठाउनका लागि फिल्मले हलमा राम्रै कमाई गर्नपर्छ । यसैले पनि निर्माताहरु फिल्म रिलिज अगाडि नै विदेशका विभिन्न स्थानमा बेचेर सुरक्षित हुन चाहन्छन् ।
कात्तिक २४ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मेला’का निर्माता तथा लेखक हरि पन्तले पनि भारतमा राइट्स विक्री गरेका छन् । उनले १६ लाख रुपैयाँमा मेलाको राइट्स वेचेको बताएका छन् । विरगञ्जमा आयोजना भएको कार्यक्रममा भोजपुरी फिल्मका स्टार परदेशी शाहले यो फिल्मको भारत प्रदर्शनको अधिकार किनेका हुन् ।
उनले नेपाली फिल्म ‘मेला’को गीतसंगीत हेरिसकेपछि आफूलाई राइट्स किन्न मन लागेको बताएका छन् । साथै, उनले नेपालीहरुको बाक्लो बसोबास रहँदै आएको मुम्बई, दिल्ली, सिक्किम, दार्जलिङ लगायतका स्थानमा हलको शो किनेर फिल्म प्रदर्शन गर्ने बताए । उनले, फिल्म ‘मेला’लाई दार्जलिङ र सिक्किममा सेन्सर गरेर केही समयमा नै प्रदर्शन गर्ने जानकारी दिए ।
सलोन बस्नेत, आमेष भण्डारी र अशिष्मा नकर्मीको मुख्य भूमिका रहेको यो फिल्मलाई बसन्त निरौलाले निर्देशन गरेका हुन् ।