प्रतिक्षित फिल्म ‘कान्छी’को एउटा लोक लयको गीत सार्वजनिक गर्दै यसको प्रचारको सुरुवात गरिएको छ । माघ २६ गतेलाई प्रदर्शन मिति तोक्दै फिल्मको ‘चरी चट्ट परि भुरुरु’ बोलको गीतको भिडियो रिलिज गरिएको हो ।
यो गीतमा फिल्मका मुख्य कलाकार स्वेता खड्का, दयाहाङ राई, भूमिका श्रेष्ठ र प्रज्वल गिरीलाई फिचरिङ गरिएको छ । ३३ बर्ष अगाडि निर्माण भएर सफल भएको फिल्म ‘कान्छी’को नाम मात्र सापटी लिएर बनाइएको यो फिल्मलाई आकाश अधिकारीले निर्देशन गरेका हुन् ।
यो गीतमा राजनराज सिवाकोटीको शब्द, स्वर र संगीत छ भने अन्जु पन्तले पनि गीत गाउनमा राजनलाई साथ दिएकी छिन् । गीत रिलिज कार्यक्रममा अभिनेत्री स्वेता खड्का, अभिनेता दयाहाङ राई लगायतको उपस्थिती थियो ।
कार्यक्रममा ३३ बर्ष अगाडि निर्माण भएको सफल फिल्म ‘कान्छी’का मुख्य कलाकार शिव श्रेष्ठ र शर्मिला मल्ललाई सम्मान पनि गरियो । भिडियोको कोरियोग्राफी बसन्त श्रेष्ठले गरेका हुन् भने पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
कार्यक्रममा विभिन्न फिल्मीकर्मीहरुको उपस्थिती थियो । आफू फिल्म क्षेत्रमा फेरि फर्किएको भन्दै अभिनेत्री स्वेता खड्काले दर्शकको न्यानो साथ पाउने विश्वास व्यक्त गरिन् ।