बलिउड मिडियामा अभिनेता साहरुख खानले यशराज ब्यानरको नयाँ फिल्म ‘धुम ४’मा काम गर्न लागेको खबर सार्वजनिक भएको लामै समय भयो । जोन अब्राहिम, ऋतिक रोशन, आमिर खानपछि यो हिट सिक्वेलमा अभिनेता साहरुख खान देखिन लागेको चर्चा लामो समयदेखि मिडियामा आइरहेको छ ।
तर, बिहिबार परेको आफ्नो जन्मदिनमा मिडियासँग कुरा गर्दै साहरुखले यो बिषयमा मुख खोलेका छन् । साहरुखले, ‘धुम ४’मा काम गर्न लागेको खबरलाई झुटो भनेका छन् । उनले मिडियासँग भने–‘मैले आदित्य चोपडालाई भनेको छु कि, अहिले मलाई कुनै पनि फिल्ममा अफर नगर्नु । किनकी, म अहिले आनन्द एल रायको नयाँ फिल्ममा व्यस्त छु । मलाई थाहा छैन, यस्तो खबर कहाँबाट आउँछ ?’
साहरुखले पत्रकारसँग आनन्दसँग काम गरिरहेको फिल्मको शिर्षक पनि चाडै नै फाइनल हुने बताए । साथै, फिल्मको पोष्टर पनि नोभेम्बर वा डिसेम्बरमा सार्वजनिक गरिने साहरुखको भनाई छ । साहरुखले आफ्नो ५२ औ जन्मदिन मिडिया, फ्यान र परिवारसँग मनाएका छन् ।