गीतसंगीतका कारण ‘रोमियो’ फिल्म अहिले चर्चामा छ । यो फिल्मका गीतसंगीतले दर्शकको मनमा बास गरिरहेका छन् । फिल्ममा समावेश ‘ल्याङ ल्याङ’ बोलको गीत त दर्शकको मुखमा झुण्डिसकेको छ ।
अब, निर्माता हसनराजा खानले फिल्ममा समावेश अर्को गीत पनि रिलिज गरेका छन् । ‘तिम्रै यादमा’ बोलको गीतमा कुर्वान अली खान र अमृता लिम्बुको स्वर, कुर्वानकै शब्द तथा संगीत छ ।
फिल्मको यो गीतको भिडियोमा मुख्य अभिनेता हसनराजा खान, निशा अधिकारी, ओसिमा बनुलाई फिचरिङ गरिएको छ । यो फिल्म कात्तिक २४ गतेबाट रिलिज हुँदैछ । फिल्मलाई शंकर कार्कीले निर्देशन गरेका हुन् । लभस्टोरी जनराको यो फिल्मबाट हसन विश्वस्त देखिएका छन् । लभस्टोरी फिल्मलाई दर्शकले रुचाइरहेको समयमा यो फिल्मले पनि बजारमा राम्रो व्यापार गर्ने उनको विश्वास छ ।