फिल्म ‘लोफर’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गर्दा धेरैलाई लागेको थियो, अभिनेत्री रजनी केसीले यो क्षेत्रमा केही गर्नेछिन् । निर्माता छविराज ओझा त रजनीलाई फिल्म क्षेत्रको नयाँ रेखा थापा भन्न पनि पछि पर्दैनथ्य । तर, ‘लोफर’ नचलेपछि रजनी रेखा थापा बन्ने त परको कुरा, छविको ब्यानरमा पनि दोहोरिइनन् ।
यसपछि, उनले केही फिल्ममा अभिनय गरेपनि उनलाई दर्शकले नोटिस गर्न सकेका छैनन् । अहिले रजनी सामान्य फिल्म, म्यूजिक भिडियो र टेलिफिल्ममा व्यस्त छिन् । ठूला ब्यानरले उनलाई पत्याएका छैनन् ।
रजनी अभिनित फिल्म ‘पटुकी’ पौष १४ गतेबाट रिलिज हुने भएको छ । यो फिल्ममा अन्य कलाकार नयाँ छन् । रजनीकै भरमा मात्र यो फिल्मका निर्माता छन् । यो फिल्मबाट दर्शक तान्ने सम्पूर्ण जिम्मा यिनै असफल अभिनेत्रीको हातमा छ ।