नेपाली फिल्ममा नयाँ नयाँ चकलेटी हिरोहरुको आगमन भैरहेको छ । चकलेटी अनुहारहरुका कारण फिल्म बजार गर्माएको छ । तर, एक दशक अगाडि अभिनेता आर्यन सिग्देल पनि चकलेटी अनुहारकै कारण चाडै क्लिक भएका थिए ।
उनै, चकलेटी अभिनेताको अहिले खासै स्टारडम छैन । आर्यनका फिल्मले बजारमा चर्चा पाउँदैनन् । आर्यन फिल्म नगरिमा नचलेपनि उनको चर्चा भने भैरहेकै हुन्छ । अभिनेत्री रेखा थापासँगको ८ बर्ष लामो दुश्मनी तोडेर एकसाथ फिल्म खेल्दा पनि आर्यन चलेनन् ।
अब, भने आर्यन आफै फिल्म निर्माण गर्न कस्सिएका छन् । यसअगाडि निर्माता सुवास गिरीसँग केही फिल्म मिलेर बनाएका आर्यनले अब भने आफै आर्यन सिग्देल इन्टरटेन्मेन्टबाट फिल्म बनाउने भएका छन् । आर्यनले बनाउन लागेको फिल्मको नाम राखिएको छैन ।
आर्यनले, फिल्ममा यसपटक भने अहिलेकी हट केक अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहलाई अफर गरेका छन् । आफ्नो होम प्रोडक्शनमा बन्न लागेको फिल्ममा साम्राज्ञीलाई भित्राएर आर्यन सुरक्षित हुने बाटो खोजिरहेका छन् ।
साम्राज्ञीले फिल्मको कथावस्तु रुचाएपनि काम गर्ने वा नगर्ने पक्का भएको छैन ।