अभिनेता दयाहाङ राई र अभिनेत्री प्रियंका कार्कीको सम्बन्ध पहिलेको जस्तो छैन । यी दुइ कुनै समय प्रेममा थिए भने अहिले अलग भैसकेका छन् । तर, यो जोडीलाई लिएर निर्देशक मिलन चाम्सले निर्देशन गरेको फिल्म ‘ह्याप्पी डेज’ भने चर्चामा छ । माघ १२ गतेबाट रिलिज हुन लागेको फिल्म ‘ह्याप्पी डेज’को रोमान्टिक गीत सार्वजनिक गरिएको छ ।
काठमाण्डौमा आयोजना भएको पत्रकार सम्मेलनमा फिल्ममा समावेश ‘तिमी विना’ बोलको गीतको भिडियो रिलिज गरियो । लोक गीतबाट खासै चर्चा नपाएपछि मिलन चाम्सले फिल्मका मुख्य कलाकार संजय गुप्ता र अभिनेत्री प्रियंका कार्कीलाई फिचरिङ गरिएको गीत बजारमा ल्याएका हुन् । यो गीतमा ताराप्रकाश लिम्बुको संगीत, दिनेश राउतको शब्द, दीपा लामा र ताराकै स्वर छ ।
यो फिल्मको सम्पूर्ण छायांकन यूके र स्कटल्याण्डमा गरिएको हो । लण्डन सिनेमा आइ प्रोडक्शन र चाम्स इन्टरटेन्मेन्टको ब्यानरमा यो फिल्मको निर्माण भएको हो । २ करोड लगानीमा बनेको फिल्मको रेड कार्पेट प्रिमियर यूकेमा चाडै नै गरिनेछ ।