निर्माता हसनराजा खान आफू निर्मित फिल्म ‘रोमियो’ सबै बर्गका दर्शकले हेर्न पाउने भएपछि उत्साहित छन् । उनले भने–‘मलाई यो फिल्म सबै बर्गका दर्शकले हेर्न पाउन् भन्ने थियो । सेन्सरबाट यूनिभर्सल सर्टिफिकेट पाएपछि म खुशी छु ।’
मंगलबार सेन्सर बोर्डका कर्मचारीले फिल्म हेरेर सकारात्मक प्रतिक्रिया दिएपछि उनी अझै उत्साहित बनेका छन् । शंकर कार्कीले निर्देशन गरेको यो फिल्मले प्रेमको कथालाई भनेको छ । फिल्ममा हसनराजा खान, निशा अधिकारी, ओसिमा बनु, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्ममा अभिनेत्री नीशा अधिकारी ‘कल गर्ल’ बनेकी छिन् । उनीसँग हसनको प्रेमको कथालाई फिल्ममा उठान गरिएको छ ।