बलिउडमा अभिनेत्री हेमा मालिनीलाई ‘ड्रिम गर्ल’को उपनामले चिनिन्छ । कोही पनि यूवाको सपनाको राजकुमारी बन्न सक्ने सुन्दरता उनमा थियो । अब, नेपाली फिल्मले पनि एक ‘ड्रिम गर्ल’ पाउने भएको छ । निर्देशक ऋषिराज आचार्यले निर्देशन गर्न लागेको फिल्म ‘ड्रिम गर्ल’को शिर्ष भूमिकामा मोडल आश्मा गिरीले काम गर्ने भएकी छिन् । यो फिल्मको बिहिबार राजधानीमा घोषणा गरिएको छ ।
यो फिल्ममा आश्मा अभिनेता आकाश श्रेष्ठकी ‘ड्रिम गर्ल’को रुपमा देखिनेछिन् । कार्यक्रममा बोल्दै उनले आफूले मिहिनेतको साथ काम गर्ने बताइन् । फिल्ममा यी दुई कलाकारसँगै सरोज खनाल, विल्सन विक्रम राई, लक्ष्मी गिरी लगायतका कलाकारले पनि काम गर्नेछन् ।
भारतीय फिल्म निर्माण कम्पनी रिल एण्ड रियल सिनेमासँगको सहकार्यमा आरबी मुभिको ब्यानरमा यो फिल्म बनाउन लागिएको पत्रकार सम्मेलनमा जानकारी दिइयो । फिल्मलाई अर्जुन शर्मा र ऋषि आफैले निर्माण गर्दैछिन् । फिल्मको छायांकन रारा ताल, मुस्ताङ, दुबई, कतारमा हुनेछ ।