फिल्म हिट भएपछि अभिनेत्री दीपिका प्रसाइले आफ्नो जन्मदिनको सेलिव्रेशन भव्य रुपले गरिन् । फिल्म क्षेत्रमा परिचित नहुँदा आफन्त र साथीभाइको विचमा मात्र जन्मदिन मनाउँदै आएकी दीपिकाले यसपटक भने केही फरक सोच राखिन् । अभिनेत्री भैसकेपछि मिडिया कभरेज पनि राम्रो हुने भएपछि उनले बोल्ड अवतारमा जन्मदिन मनाइन् ।
बिहिबार बेलुकी फिल्म ‘ऐश्वर्य’को टिममा बसेर उनले जन्मदिन मनाएकी हुन् । उनलाई शुभकामना दिनका लागि कलाकार, पत्रकार, आफन्त र साथीभाई पुगेका थिए ।
दीपिकाले आफू २२ बर्षमा प्रवेश गरेको पनि बताइन् ।
२२ बर्षमा प्रवेश गर्दै गर्दा फिल्म क्षेत्रमा पाएको सुरुवाती सफलताले आफू उत्साहित भएको दीपिकाको भनाई थियो । उनले आफू अहिले प्रेममा नरहेको पनि स्पष्ट पारिन् । तर, ८ कक्षामा पढ्दा आफूलाई २ यूवाले प्रेम प्रस्ताव राखेको उनले संझिइन् ।
दीपिकाले जन्मदिनको अवसरमा भनिन्–‘अब म प्रतिस्पर्धात्मक बजारमा आएकी छु । तर, अहिले नै कस्तो फिल्म खेल्ने भनेर डिमाण्ड गर्ने समय भएको छैन ।’
सो अवसरमा दीपिका अभिनित फिल्म ‘ऐश्वर्य’ हिट भएको अवसर पारेर केक पनि काटियो । फिल्मका निर्माता तथा अभिनेता रमेश उप्रेती, निर्देशक दिवाकर भट्टराई, अभिनेत्री दीपिका लगायतले एकसाथ केक काटेका थिए ।