निर्माता हरि पन्तको अहिले ढुकढुकी केही कम भएको छ । बिहिबारसम्म लाखौ लगानी गरेको फिल्मले कस्तो व्यापार गर्ला भन्ने उनलाई लागेको थियो । तर, शुक्रबारबाट भने फिल्मले सिंगल थिएटरमा आकर्षक व्यापार गरेपछि उनी खुशी देखिएका छन् ।
फिल्मको प्रचारमा निर्देशक, कलाकारको साथ नपाएका हरिले शुक्रबारबाट भने केही राहतको श्वास फेरेका छन् । काठमाण्डौका गोपिकृष्ण, अष्टनारायण, गंगा, गुण, कलंकी लगायतका हलमा फिल्म हेर्न दर्शकको राम्रै भीड देखियो । यो फिल्मसँगै अन्य ३ फिल्म रिलिज भएपनि यो फिल्म निकै अगाडि देखियो ।
शनिबार काठमाण्डौको गोपिकृष्ण हलमा पुगेका यसका अभिनेता आमेष भण्डारी फ्यानसँग सेल्फी खिच्नमै मस्त देखिएका थिए । बसन्त निरौला निर्देशित यो फिल्ममा आमेषको साथमा अशिष्मा नकर्मी, सलोन बस्नेतको मुख्य भूमिका छ । फिल्ममा सलोनको कमेडीलाई रुचाइएको छ ।