बर्षकै बहुप्रतिक्षित फिल्म ‘कृ’को ट्रेलर काठमाण्डौमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको छ । अभिनेता अनमोल केसीले अभिनय गरेका कारण पनि यो फिल्मको ट्रेलर सर्वाधिक प्रतिक्षामा थियो । माघ २६ गतेबाट फिल्म रिलिज हुनेछ ।
सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा तयार भएको फिल्मलाई सुपर काजोल फिल्मस्ले प्रस्तुत गरेको हो । फिल्ममा अनमोल केसी, अनुप विक्रम शाही, अदिती वुढाथोकी, कामेश्वर चौरासिया, सरोज खनाल, लक्ष्मी गिरी, रुपा राना, सुदाम, अमिती गिरी, टिका भक्त जिरेल, अर्जेस रेग्मी लगायतका कलाकारको मुख्य भूमिका छ ।
सुरेन्द्र पौडेलले सम्पादन तथा निर्देशन गरेको फिल्मलाई सुवास गिरी र अभिनेता भूवन केसीले मिलेर बनाएका हुन् । फिल्मका कार्यकारी निर्माता कमल गिरी हुन् भने श्री पराजुली यसका सह–निर्माता हुन् ।
फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको द्धन्द्ध निर्देशन, प्रदि पभारद्धाज र आशिष रेग्मीको पटकथा तथा संवाद, अल्मोडा उप्रेती राना र विशेष पाण्डेको संगीत, रेनशा वान्तवा राइको कोरियोग्राफी छ । फिल्मका प्रोडक्शन डिजाइनर शंकर पाण्डे हुन् हुन् भने पब्लिसिटी डिजाइनर टौवा क्रियशनको रहेको छ ।
३ मिनेट लामो फिल्मको ट्रेलरमा अभिनेता अनमोल केसीको एक्सन, अदिती र अनमोलको प्रेम, अनुप विक्रम शाहीको भिलेन अवतार छ । कार्यक्रममा बोल्दै अभिनेता अनमोल केसीले आफूले दर्शकको चाहना अनुसार आफूलाई परिवर्तन खोजेको बताए । उनले, बजारमा आफूलाई ५० लाख पारिश्रमिक दिने बिषयमा चलेको चर्चा सत्य भएको बताए ।
अनमोलले भने–‘मलाई ५० लाखको अफर आएको कुरा सत्य हो ।’ उनले, आफूलाई स्टार, सुपरस्टार, मेघास्टार जे भनेपनि आफू भर्खरै फिल्म क्षेत्रमा आउँदै गरेको कलाकार भएको बताए ।
निर्माता सुवास गिरीले नेपाली फिल्मलाई प्राविधिक रुपमा पनि एउटा उचाइमा लैजाने उद्देश्यले यो फिल्म बनाएको बताए । अर्का, निर्माता भूवन केसीले हामीले नेपाली फिल्मसँग नभई विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्नुपर्ने बताए ।
फिल्मकी अभिनेत्री अदिती वुढाथोकीले एउटा राम्रो टिमसँग काम गर्न पाउँदा निकै खुशी लागेको बताइन् । निर्देशक सुरेन्द्र पौडेलले ‘कृ’को अर्थ बदला भएको भन्दै फिल्मलाई हरेक दृष्टिकोणबाट उत्कृष्ट बनाउन खोजेको बताए ।