८९ औं अस्कर अवार्डमा सहभागी हुन ‘विदेशी भाषी विधा’ मा प्रतिस्पर्धाका लागि नेपाली फिल्मलाई आह्वान गरिएको छ। आफ्नो फिल्म अस्कर अवार्डमा सहभागी गराउन चाहनेले २०७३ भदौ १५ भित्र दर्ता गरिसक्नुपर्ने नेपालको अस्कर अवार्ड छनौट समितिले प्रेस विज्ञप्ती जारी गर्दै जानकारी दिएको छ ।
प्रतियोगितामा नेपालको फिल्मले ‘विदेशी भाषी फिल्म विधा’ मा प्रतिस्पर्धा गर्न पाउनेछ। सहभागिताका लागि २०७२ असोज १४ देखि २०७३ साल भदौ १४ सम्म सात दिन सार्वजनिक प्रदर्शन गरिएको फिल्म हुनु पर्नेछ। अमेरिकाको एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसद्वारा तोकिएका सबै मापदण्ड पुग्ने एउटा मात्र नेपाली फिल्म अस्करका लागि पठाइनेछ। ८९ औं अस्कर अवार्ड समारोह आगामी २०१७ फेबु्रअरी २६ का दिन अमेरिकाको लस एन्जल्समा आयोजना गरिनेछ।