हालसम्म नेपाली चलचित्रको कुनै पनि अडियो वा भिडियो गीतलाई दर्शकहरुले करोड पटक हेरेको पाइएको छैन । चलचित्रका धेरै गीतहरु युटयुबमा हिट भएपनि करोडको भ्युअर्स पाउन नसकेको अबस्थामा गएको बर्ष प्रदर्शनमा आएको सुपरहिट चलचित्र ‘वडा नम्बर ६’ मा समाबेश ‘सुर्के थैली’ बोलको गीतले करोडमाथीको भ्युअर्स पाएको छ । योसँगै ‘सुर्के थैली’ले रेकर्ड पनि बनाएको छ । यो गीतमा राजनराज सिवाकोटीको संगीत, शब्द तथा स्वर रहेको छ भने अञ्जु पन्तले पनि स्वर दिएकी छिन् ।
शंकर विसीको कोरियोग्राफी रहेको भिडियोमा प्रियंका कार्की, दयाहाङ राई, दिपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, रञ्जिता गुरुङले नृत्य प्रस्तुत गरेका छन् । यो गीत अहिलेपनि चिया पसलदेखी गाउँघरमा दैनिक जसो दर्जनौ पटक बज्ने गर्छ । नृत्यका लागि दर्शकहरुले बढी जसो यो गीतलाई प्रयोग गरेको पाइन्छ । ‘सुर्के थैली’ले युटयुबमा करोडमाथीको भ्युअर्स पाएपछि निर्माणपक्षले सम्पुर्ण दर्शकहरुलाई धन्यवाद व्यक्त गरेको छ । यही ‘वडा नम्बर ६’ निर्माण गरेको टिमले तयार पारेको अर्को नयाँ चलचित्र ‘छक्का पन्जा’ भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । अहिले यो चलचित्रको दुई गीतले पनि राम्रो चर्चा पाइरहेका छन् ।