काठमाडौं | आकाश श्रेष्ठलाई फिल्म क्षेत्रका चकलेटी हिरोका रूपमा लिइन्छ। ‘म त तिम्रै हुँ’बाट नेपाली रजतपटमा डेब्यु गरेका आकाश अभिनित तिन फिल्म ‘म त तिम्रै हुँ’, ‘तिमीसँग’ र ‘ब्ल्याक’ रिलिज भइसकेका छन्। तर तीन वटै फिल्मले आकाशलाई सफल बनाउन सकेको छैन्। तर पनि उनी फिल्म क्षेत्रमा नै सकृय छन्।
आकाश अभिनित चौथो फिल्म ‘रामकाहानी’ यही शुक्रबार अर्थात भदौ २२ गतेबाट प्रदर्शनमा आउदै छ। फिल्ममा उनी पूजा शर्माको जोडीका रुपमा प्रस्तुत छन्। पूजा शर्मालाई अहिलेको सफल नायिका मानिन्छ। त्यसैले पनि पूजाको जोडी भएर काम गर्नु आकाशको लागि ‘प्लस पइन्ट’ भएको मानिन्छ। सबैले रुचाएका निर्देशक सुदर्शन थापा फिल्मको निर्देशक भएका कारण पनि फिल्म सफल हुने र यसको फाइदा आकाशलाई पनि पुग्ने अनुमान लगाउन सकिन्छ।
फिल्मको प्रदर्शनलाई लिएर आकाश निकै उत्साहित छन्। यस फिल्मबाट भने आफू सफल हुनेमा आकाश विश्वस्त छन्। भन्छन्, ‘राम्रो टिमसँग काम गर्ने अवसर पाएको छु त्यसैले फिल्म सफल हुनेमा विश्वस्त छु।’
फिल्म सफल हुनमा कलाकारको मात्र हात नहुने उनको तर्क छ। उनी भन्छन्, ‘कलाकार सफल हुनुमा मेकर्सको पनि हात हुन्छ। यस फिल्ममा मैले राम्रो टिम पाएको छु। पक्कै दर्शकको नोटिसमा पर्छु होला।’
फिल्म रामकाहानीमा पूजा र आकाशसँगै केदार घिमिरे, जीतु नेपाल, राजाराम पौडेल, रविन्द्र झा, विल्सनविक्म राईको पनि मुख्य भूमिका रहेको छ।