काठमाडौं | ‘कथा काठमाडौं’ फिल्ममा समावेश गीत ‘रातको कुरा’ यूट्युबमा रिलिज भएसँगै उक्त गीतमा भएको इन्टिमेट सिनको चर्को आलोचना भइरहेको थियो। उक्त कुरा फिल्मको ट्रेलरमा पनि देखियो। उनीहरुको विवाद निकै माथिसम्म पुगेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको ‘हेलो सरकार’मा केहीले प्रोमोलाई लिएर गुनासो गरेका छन्।
सरकारले सम्बन्धित निकाय अर्थात् चलचित्र विकास बोर्डलाई प्रोमोको विषयमा बुझ्न पत्र काटेको थियो। बिकास बोर्डले भने फिल्म निनर्माण युनिटलाई उक्त प्रेमो हटाउने ठाडो निर्देशन सहितको पत्र काटेको छ। यदि उक्त प्रोमो नहटाए कारबाही गर्ने चेतावनी पनि दिएको छ।
बोर्ड अध्यक्ष निकिता पौडेलले पत्र काट्दै प्रोमो अश्लिल भएको भन्दै उक्त प्रोमो हटाउन निर्देशन दिएकी छन्। प्रोमोले सामाजिक मर्यादामा खलल पुग्ने देखिएकाले यथाशिघ्र उक्त फिल्मको प्रोमो हटाई सोको लिखित जानकारी बोर्ड समक्ष पेश गर्न पत्रमा उल्लेख गरिएको छ।
निर्देशक संगीता श्रेष्ठले बोर्डले फिल्म रिलिजको बेला अनावश्यक मानसिक तनाव दिएको भन्दै गुनासो ब्यक्त गरेकी छिन्। उनी भन्छिन्, ‘बोर्डले पत्रमा उल्लेख गरेको यूट्युब लिंक हाम्रो अफिसियल मिडिया पार्टनरको होइन। कसैले हाम्रो सामाग्री चोरेर हालेको छ। अनि उक्त कुरामा ठाडो निर्देशन सहित मलाई पत्र काटिएको छ। के यो गर्नु मार्यादित हो र ?’ बोर्ड जस्तो जिम्मेवार संस्थाले कुनै पनि अनुसन्धान बिना कारबाही गर्ने भनेकोमा उनले आप्पती जनाइन्।
असोज १२ गते प्रदर्शनमा आउने ‘कथा काठमाडौं’को रिलिजलाई बिकास बोर्डको यो पत्रले अन्यौलमा परेको छ।