नेपाली चलचित्र क्षेत्रमा सम्भावना बोकेकी नायिका हुन् शिल्पा पोख्रेल । छवि क्याम्पमा चलचित्रमा भित्रिएकी शिल्पालाई धेरैले रेखा थापालाई टक्कर दिने नायिका भनेर पनि चिन्न थालिसकेका छन् । रेखा थापासँग टाढिएपछि आफ्नो व्यानरमा शिल्पा भित्राएका छविलाई उनको इन्ट्री राम्रै फापेको छ । छविले निर्माण गरेको दुई चलचित्र लगालग सुपरहिट दिएपछि अहिले शिल्पा छविराज प्रोडक्शनको ब्राण्ड एम्बेसडर नै बनिसकेकी छिन् । उनले एकपछि अर्को गर्दै छविराज ओझाले निर्माण गरेको चलचित्रमा काम गरिरहेकी छिन् र सफलता हासिल पनि गरिरहेकी छिन् । छविराज ओझाले निर्माण गरेको चलचित्र ‘लज्जा’बाट नेपाली चलचित्रमा डेव्यू गरेकी शिल्पाले त्यसपछि छविराज प्रोडक्शनको ब्यानरमा निर्माण भएको अर्को चलचित्र ‘हवल्दार सुन्तली’मा पनि काम गरिन् । यि दुवै चलचित्रले सफलता हासिल गरे । त्यसपछि उनले छवि ओझाको ब्यानरभन्दा बाहिरको चलचित्र ‘फागु’मा काम गरिन् । अहिले उनको दुई चलचित्र प्रदर्शनका लागि तयार भएर बसेको छ । अब आउँने शुक्रबार शिल्पाले अभिनय गरेको चलचित्र ‘बृन्दावन’ प्रदर्शनमा आउँदैछ भने असोज २१ अर्थात दशैलाई लक्षित गरेर छविराज ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत २’ प्रदर्शनको लागि तयार भएर बसेको छ ।
शिल्पाका लागि किन चल्नु पर्छ ‘बृन्दावन’ ?
असोज २१ गते प्रदर्शनका लागि तयार भएको चलचित्र ‘किस्मत २’ चल्नका लागि शिल्पाको ‘बृन्दावन’ अग्नी परिक्षा हो भन्दा फरक पर्दैन् । एकपछि अर्को चलचित्रमा दमदार अभिनय गरेकी शिल्पालाई ‘बृन्दावन’ सफल भयो भने ‘किस्मत २’ सफल हुने बाटो सजिलै खोलिदिन्छ यदी होइन भने शिल्पालाई असोज २१ गतेको परिक्षा केही गाह्रो हुन सक्ने पक्का छ । बाँदरसँग पर्दामा पहिलो पटक काम गरेकी शिल्पा चलचित्र बृन्दावनमा खतरनाक एक्शन अवतारमा प्रस्तुत भएकी छिन् । चलचित्रमा शिल्पाका अलवा किशोर खतिवडाको पनि मुख्य भुमिका रहेको छ । राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई रुद्र खनालले निर्माण गरेका हुन् ।