भदौ ९ गतेबाट चलचित्र ‘लभ लभ लभ’ को पोखरामा धमाधम छायाँकन भइरहेको छ । गएको बर्ष ‘पशुपतिप्रसाद’ चलचित्र निर्देशन गरेर राष्ट्रिय अवार्डसमेत हात पारेका दिपेन्द्र के. खनाल निर्देशित चलचित्र लभ लभ लभमा स्वस्तिका खड्का (बस्नेत) र सुरज पाण्डेको मुख्य भुमिका रहेको छ । चलचित्रमा यो जोडीको प्रेम सम्बन्धलाई रोचक शैलीलाई देखाइनेछ । स्वस्तिका र सुरजको साथै चलचित्रमा देशभक्त खनाल, रमेश बुढाथोकी, रुपा राना लगायतका कलाकारहरुको पनि अभिनय रहनेछ । अमृत पोण्ड र शर्मिला पाण्डेको निर्माणमा तयार भइरहेको यो चलचित्रमा निर्देशक खनालको पनि रियल लभस्टोरीको केही अंश जोडिनेछ । पहिलो पटक लभस्टोरी चलचित्र निर्देशनमा उत्रिएका निर्देशक दिपेन्द्रले चलचित्र ‘लभ लभ लभ’लाई उत्कृष्ट बनाउन कुनै कसरत बाँकी नराख्ने बताएका छन् । झण्डै एक महिना लामो छायाँकनका लागि पोखरा पुगेको लभ लभ लभ यस बर्षको अन्त्यमा प्रदर्शन गर्ने तयारीमा निर्माण पक्ष रहेको छ ।