काठमाडौं | अन्तरदेशीय प्रेम सम्बन्धको कथा प्रस्तुत गर्ने फिल्म ‘प्रेमलिला’को फस्टलुक पोष्टर सार्वजनिक भएको छ। बुधबार एक कार्यक्रमको आयोजना गर्दै फिल्मको पोष्टर सार्वजनिक गरिएको हो। सार्वजनिक पोष्टरमा नायिका दीपशिखाको कपाल खौरिएको लुक्स देखाइएको छ।
पोष्टर रिलिजसँगै फिल्मले प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ। पत्रकार सम्मेलनमा जानकारी गराइए अनुसार फिल्म माघ २५ मा देशभर रिलिज हुनेछ।
फिल्ममा दीपशिखा खड्का, अलि खान र मौसम खड्काको अभिनय रहेको छ। खान र खड्काले यसैफिल्मबाट डेब्यु गरेका हुन्। दीपशिखाले यसअघि केही फिल्ममा अभिनय गरे पनि ‘प्रेमलिला’ नै आफ्नो डेब्यु फिल्म रहेको बताइन्। उनले भनिन् ‘गर्न त मैले आठ वर्षको अवधिमा थुप्रै फिल्ममा अभिनय गरें तर मलाई कुनै पनि फिल्मले चिनाएनन्। त्यसैले मैले पनि यसलाई डेब्यु फिल्म नै ठानेकी छु।’ उनले फिल्मको गेटअपमा रहन सुटिङदेखि अहिलेसम्म ५ चोटि कपाल काटेको बताइन्।
दीपशिखा खड्काकै कथा तथा लेखन रहेको फिल्मलाई पवन गौतमले खिचेका हुन्। जनक पाण्डेले निर्देशन गरेकोमा फिल्ममा नानीमैया कार्की र फैजिल फिल्मस्को लगानी रहेको छ। फिल्मलाई सुनिल मानन्धरले वितरण गर्न लागेका हुन्।







