काठमाडौं | नेपाली टेलिभिजनमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज भित्रने क्रममा चर्चित कार्यक्रम कौन बनेगा करोडपति पनि थपिने भएको छ। ‘हु वान्ट्स टु बी मिलिनिअर्स’को हिन्दी संस्करण कौन बनेगा करोडपति नेपाली दर्शकबीच पनि चर्चित छ। त्यसकैको नेपाली संस्करण हो ‘को बन्छ करोडपति’।
को बन्छ करोडपतिलाई हिन्दी संस्करणका प्रस्तोता अभिताभ बच्चनले शुभकामना पनि दिएका छन्। उनले भनेका छन्, ‘नमस्ते नेपाल। कस्तो हुनुहुन्छ, सन्चै हुनुहन्छ? म एकदम खुशी छु भारतमा रुचाइएको कार्यक्रम नेपालमा प्रसारणमा आउँदैछ। सबैलाई शुभकामना।’
‘को बन्छ करोडपति’लाई महानायक राजेश हमालले संचालन गर्नेछन्। को बन्छ करोडपतिको प्रोमो पनि बिहीवार सार्वजनिक गरिएको छ। प्रस्तोता राजेश हमालले शोको बारेमा भने, ‘अन्तार्राष्ट्रिय फ्रेन्चाइज भए पनि कार्यक्रममा नेपाली फ्लेवर दिनेछौं।’
‘को बन्छ करोडपति’का लागि तयारी भइरहेको आयोजकले जनाएको छ। कार्यक्रम अर्को महिनाबाट प्रसारणमा आउनेछ। यो एपी वान टेलिभिजनमा प्रसारण हुनेछ। सन् १९९८ मा डेभिड व्रिक्स, माइक ह्वाइटहिल र स्टेभन नाइटले सुरु गरेको ‘हु वान्ट्स टु बी मिलिनिअर्स’ को फ्रेन्चाइज संस्करणमा नेपाल १ सय ६१ औं देश हो।