काठमाडौं | पुस १७ बाट रिलिज हुन लागेको फिल्म ‘चौका दाउ’को तीन ओटा पोष्टर रिलिज गरिएको छ। एक साता अघि रिलिज गरिएको ट्रेलरले राम्रो चर्चा पाएपछि निर्माण पक्षले आइतबार पोष्टर रिलिज गरेको हो।
पोष्टरमा मुख्य कलाकारहरुलाई उनीहरुको चरित्रमा उतारिएको छ। दुई मध्य एउटा पोष्टरमा फिल्मका चार जुवाडे रबीन्द्र झा, विल्सन बिक्रम राई, तैयब शाह र सन्तोष पन्त जुवा हारेपछि नाँगै गाडीमा घर फर्किएको देखाइएको छ। जसमा कलाकार सोनिका केसीलाई मदिराको सुराही सहित प्रस्तुत गरिएको छ।
अर्को पोष्टरमा रबिन्द्र झलाई मधेसी, सन्तोष पन्तलाई शिख, तैयव शाहलाई मुस्लिम र विल्सन बिक्रम राईलाई हिमाली भेषमा उतारिएको छ। यही पोष्टरमा यी चारजना अभिनेत्री वर्षा राउतसँग केन्द्रित भएको वर्षाको तस्बिरले जनाउँछ। साथै अभिनेता अजश्र ढुँगाना, निर्मल शर्मा, योगी विकाशानन्द, शिवशँकर रिजाल (जोगिन्दर पानवाला)लाई पनि समेटिएको छ।
मनोज राजभण्डारी र सौर्यजीत बासकोटाले निर्माण गरेको चौका दाउलाई पूर्णेन्दु झाले निर्देशन गरेका हुन्। चौका दाउ हास्यप्रधान सामाजिक प्रेमकथामा आधारित फिल्म भएको निर्माण युनिटले बताएको छ। यस फिल्ममा कथा, संगीत र गायन पनि बास्कोटाकै रहेको छ।
अभिमन्यु निरवीको पटकथा तथा संवाद रहेको यस फिल्मको छायाँकारमा दीर्घ गुरुङ, सम्पादकमा मित्रदेव गुरुङ, द्धन्द्ध निर्देशकमा रोशन श्रेष्ठ, निर्माण संयोजकमा नरेन्द्र खड्का, नृत्य निर्देशकमा बसन्त श्रेष्ठ र भिमफेदी गाईज, गायनमा शम्भुजीत बासकोटासँगै कोमल राजभण्डारी र सुमन गुरुङ, रंग संयोजकमा भरत रेग्मी, निर्माण ब्यबस्थापकमा सुवास काफ्ले रहेका छन्।