फिल्म ‘वीर बिक्रम २’को पहिलो गीत रिलिज भएको छ । बिहिबार एक कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश ‘पिरतीको मिठो तिर्सना’ बोलको गीत सार्वजनिक गरिएको हो ।
राजेश हमाल अभिनित हिट फिल्म ‘देउता’को उक्त गीतलाई रिमेक गरी ‘वीर बिक्रम २’मा राखिएको हो । मुस्ताङमा खिचिएको यस गीतको नयाँ भर्सन भिडियोमा नायक पल शाह, नाजिर हुसेन र नायिका वर्षा सिवाकोटीले नृत्य गरेका छन् । भिडियोमा कविराज गहतराजको नृत्य निर्देशन छ ।
दशक पहिलाको चलचित्र ‘देउता’मा समावेश उक्त गीतको भिडियोमा नायक राजेश हमाल र नायिका सृजना बस्नेतको नृत्य देख्न सकिन्छ ।
कुशुम गजमेर र तुलसी घिमिरेको शब्द समावेश उक्त गीतमा रंजित गजमेरको संगीत छ । गीतमा इन्द्रजित मिजार र भारती घिमिरेले स्वर दिएका थिए भने नयाँ भर्सनको गीतमा मेलिना राई र ताराप्रकाश लिम्बुको स्वर सुन्न सकिन्छ ।
‘चाम्स इन्टरटेन्टमेन्ट’ र ’लण्डन सिने आइ’को संयुक्त व्यानरमा निर्माण भएको ’वीर बिक्रम २’मा निर्देशक चाम्सकै लगानी छ । प्रदीप भारद्वाजले लेखेको यस फिल्ममा सुदिप बरालको छायांकन छ ।