‘६ एकान ६’ सफल भएपछि दीपाश्री निरौला, दीपकराज गिरी र निर्मल शर्मा निकै हौसिए । त्यसपछि निर्माण गरे ‘वडा नम्बर ६’ । लगातार ६ नम्बर फाप्दै गएपछि यो टिमले अर्को चलचित्र निर्माण गरेको छ ‘छक्का पन्जा’, जुन यही भदौ २४ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । लगातार दर्शकहरुबाट पाएको साथले दीपाश्री निरौला, दीपकराज गिरी र निर्मल शर्माले चलचित्र ‘छक्का पन्जा’ बनाएका छन् । प्रदर्शन मिति नजिकदै गर्दा आक्रामक प्रचारमा उत्रिएका उनीहरु दर्शकहरुलाई हाँस्ने दिन भदौ २४ भन्दै हिँडिरहेका छन् । पहिलो पटक निर्देशनमा हात हालेकी दीपाश्रीलाई ‘छक्का पन्जा’ त्यतिक्कै चुनौतीपूर्ण छ । पहिलो निर्देशित चलचित्र छक्का पन्जा सफल भयो भने दीपाश्री हास्य विधामा जसरी सफल भएकी छिन् त्यसरी नै निर्देशनमा पनि जम्ने पक्का छ । अहिले जसरी चलचित्र छक्का पन्जाको ट्रेलर र गीतले चर्चा पाइरहेको छ, त्यो हेर्ने हो भने चलचित्र छक्का पन्जा सफल हुनेमा कुनै दुई मत नै छैन । तर यो भन्नु भन्दा पनि त्यसका लागि भदौ २४ गते नै कुर्नु राम्रो होला । दीपकराज गिरी, प्रियंका कार्की, जितु नेपाल, बुद्धि तामांग, शिवहरी पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रको गीतमा दीपक शर्मा र गएको बर्ष ‘बडा नम्बर ६’ मा समाबेश ‘सुर्के थैली खोइ’ गीतका संगीतकार राजनराज सिवाकोटीको संगीत रहेको छ । चलचित्र छक्का पन्जाको गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने रोशन श्रेष्ठको एक्शन रहेको छ ।