सुदर्शन थापाको निर्देशनमा बन्न लागेको फिल्म ‘सम्हालिन्छ कहिले मन’को घोषणा गरिएको छ। आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको औपचारिक घोषणा गरिएको हो।
त्रिकोणात्मक प्रेमकथामा आधारित रहेर निर्माण हुन लागेको यस फिल्ममा नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र नव–नायक सोनम तोप्देनको मुख्य भूमिका रहनेछ। फिल्ममा गौरी मल्ल, सरोज खनाल र धिरेन शाक्यलाई पनि देख्न सकिनेछ। फिल्मका लागि केही कलाकार छनोट हुन बाकी छन।
महेश दवाडीको कथामा निर्माण हुने यस फिल्ममा अर्जुन पोखरेल र ताराप्रकाश लिम्बुको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ।
फेव्रुअरी ९ बाट छायांकनमा जाने यस फिल्मलाई यूके र नेपालमा खिचिने छ। छायांकन लागि निर्देशक थापासहितको ४ जनाको टिम मंगलबार यूके उड्दैछ भने कलाकारको टोली फेव्रुअरीको पहिलो साता यूके प्रस्थान गर्नेछ।
अमित बस्नेतले निर्माण गर्ने फिल्ममा परी राना र अजितकुमार थापा सह–निर्माताको रुपमा छन् भने यो चलचित्रका कार्यकारी निर्माता सनिष खकुरेल हुन्।