प्रवासमा निर्माण भएको नेपालको पहिलो चलचित्र “सत्य हरिशचन्द्र” लाई मानिए पनि नेपालमा पहिलो पटक निर्माण भएको चलचित्रको रुपमा “आमा” लाई हेर्ने गरिन्छ । धेरैले नेपालमा निर्माण भएको चलचित्रको रुपमा आमालाई नै हेर्ने भएका कारण नेपाली चलचित्रको इतिहास आमाबाट नै सुरु भएको पाइन्छ । चलचित्र आमा प्रदर्शन भएपछि नेपालमा नायक नायिका भनेर पात्र चयन हुन थालेको हो । त्यसपछि क्रमश नेपालमा चलचित्रहरु निर्माण हुन थाले । चलचित्रक्षेत्रको विकाससँगै अहिले नेपालमा करोडमाथिका चलचित्रहरु पनि निर्माण हुन थालिसकेका छन् । नेपाली चलचित्र यहाँसम्म आइपुग्दा धेरै कलाकारहरु जन्मिए र धेरैले आफ्नो स्थापित नाम पनि पाए । जब राजेश हमाल, भुवन केसी, शिव श्रेष्ठ लगाएतका कलाकारहरु नेपाली चलचित्र क्षेत्रमा जन्मिए त्यसपछि नेपाली चलचित्रले नयाँ मोड लियो । भन्ने गरिन्छ त्यसपछि नै चलचित्रको पर्दा कलाकारहरुको प्रतिस्पर्धा सुरु भएको हो । आफ्नो समयमा कसलाई कसको प्रतिस्पर्धी मान्ने होड अहिले पनि नेपाली सिनेवृत्तमा छ ।
एक समय नेपाली चलचित्रमा नायक भुवन केसी र शिव श्रेष्ठको प्रतिस्पर्धा राम्रै मानिन्थ्यो । २०३७ सालमा बनेको चलचित्र जीवनरेखाबाट डेव्यू गरेका शिव श्रेष्ठलाई करियरको सुरुवातमा नायक भुवन केसीले टक्कर दिन सुरु गरे । त्यति बेला नेपाली सिने वृत्तमा शिव श्रेष्ठलाई भुवन केसीले राम्रै टक्कर दिदैछन् भन्ने खाल्का बहस भएको थियो । नेपाली चलचित्र जुनीबाट डेव्यू गरेका भुवन केसी र शिव श्रेष्ठको नाम नेपाली चलचित्रमा पं्रतिस्पर्धी हिरोको कुरा आउँदा सबैभन्दा अगाडी आउँछ । भुवन र शिवले लामो समय एकअर्कासँग प्रतिस्पद्र्या गरेको पाइन्छ ।
त्यस्तै एकसमयका सफल र हिट नायक हुन् राजेश हमाल र धीरने शाक्य । एक समय यि दुई नायकलाई पनि कडा प्रतिस्पर्धीको रुपमा हेरिने गरिनथ्यो । यूगदेखी यूग चलचित्रबाट डेव्यू गरेका राजेश हमाललाई टक्कर दिने चलचित्र प्रेमबाट डेव्यू गरेका धीरेन शाक्य थिए । प्रतिस्पर्धाको बिचमा नै केही निर्माताले यि दुईलाई एकसाथ लिएर सिमाना, भीष्मप्रतिज्ञाजस्ता चलचित्र निर्माण गरे र यि चलचित्रले व्यबसायिक सफलता पनि हासिल गरे । तर समयको क्रमसँगै राजेश हमालले धीरेनलाई पछाडी छोड्दै गए ।
त्यस्तै एक समयका अर्का प्रतिस्पर्धी नायक हुन् श्रीकृष्ण श्रेष्ठ र रमेश उप्रेती । यि दुई नायकको पनि एक समय राम्रै प्रतिस्पर्धा हुने गर्थ्यो । डान्सिङ हिरोको रुपमा नेपाली चलचित्रमा भित्रिएका यि दुवै हिरोले केही बर्ष खुबै प्रतिस्पर्धा भयो । भुमरी नाताबाट रजतपटमा डेव्यू गरेका श्रीकृष्णलाई रमेश उप्रेतीको आगमन हुनुभन्दा अगाडी टक्कर दिने सायदै थिए । रमेशले पनि डान्सिङ हिरोको छवि बनाएपछि चलचित्रमा उनीहरु एकअर्काका विकल्प हुन थाले । त्यसपछि सुरु भयो उनीहरुको लडाई । श्रीकृष्ण आज यो संसारमा छैनन् तर रमेश भन्दा श्रीकृष्णलाई आजपनि सफल नायकको रुपमा हेरिन्छ । श्रीकृष्णसँग प्रतिस्पर्धा गर्दा गर्दै रमेश उप्रेती अमेरिका हानिए र श्रीकृष्णले एकलौटी राज गरे । श्रीकृष्णको निधनपछि नायक रमेश उप्रेतीले फेरी नेपाली चलचित्रमा कमब्याक गरेका छन् । उनले अभिनय गरेको कमब्याक चलचित्र ब्रासलेट भदौ १७ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।
त्यस्तै अर्का दुई नेपाली एक्शन हिरो विराज भट्ट र निखिल उप्रेतीको प्रतिस्पर्धा पनि एक समय खुबै थियो । निर्माताहरु नै अन्योलमा हुन्थे कि आफ्नो चलचित्रमा कुन हिरो लिने । चलचित्र पिँजडा छायाँकनको क्रममा नौं तलाबाट हामफालेर एकाएक चर्चामा आएका निखिललाई अहिले पनि सफल नायकको रुपमा हेरिन्छ । पिँजडा चलचित्रपछि निखिलले जसरी नेपाली चलचित्रमा एकलौटी राज गरे उनलाई त्यति बेला टक्कर दिने कोही पनि नायक थिएनन् तर झुल्किए विराज भट्ट । विराजको इन्ट्री एकपटक निखिललाई भारी पर्न थाल्यो । यतिसम्मकी विराजको इन्ट्रीले निखिललाई ओझेलमा पारेकोसम्म बुझिन्छ । तर अचम्मको कुरा के छ भने यि दुई हिरोले सफलता पाउँदै गर्दा हराए । केही बर्ष अगाडी भैरवबाट कमब्याक गरेका निखिल र गएको हप्ता मात्र प्रदर्शनमा आएको चलचित्र जय परशुरामबाट कमब्याक गरेका विराजको प्रतिस्पर्धा फेरी पटक राम्रै हुने चलचित्रकर्मीहरुले अनुमान लगाउन सुरु गरिसकेका छन् ।
यही बिच यूवापस्ताका चर्चित र सफल नायक हुन् आर्यन सिग्देल र जीवन लुइँटेल । अहिले पनि यि दुई नायकको प्रतिस्पर्धा खुबै छ । किस्मतबाट डेव्यू गरेका आर्यनलाई नसिब आफ्नो चलचित्रबाट डेव्यू गरेका जीवनले टक्कर दिने सामथ्र्यका साथ उदाए । पहिलो मिस्टर नेपालको उपाधि चुमेका जीवनको क्रेजले आर्यनलाई टक्कर दिनु स्वभाविकै थियो । अहिले पनि नेपाली सिने बजारमा आर्यन र जीवन मध्ये को हुन् नं. १ ? भन्ने बहस सेलाएको छैन । भानु महर्जनको प्रस्तुतीमा अनिल संग्रौलाले निर्देशन गर्ने चलचित्र कर्मामा आर्यन र जीवन सँगै देखिने पनि खबर बाहिर आएको थियो । तर हालसम्म यो चलचित्रको छायाँकन आरम्भ भएको छैन । अहिले यि दुई हिरोले नयाँ पुस्ताका कलाकार अनमोल केसीसँग प्रतिस्पद्र्या गरिरहेका छन् ।