आर्यन सिग्देलको मुख्य भूमिका रहेको फिल्म ‘च च हुई’को हाल धमाधम सुटिङ भइरहेको छ। अहिले निर्माण युनिट हङकङमा पुगेर फिल्म खिचिरहेको छ।
एक साताको सुटिङ सेड्युल लिएर निर्माण युनिट गत शुक्रबारमात्र हङकङ पुगेको हो। हङकङको नर्थ पोइन्ट, जोर्डन, गार्डेन हिल लगायतका स्थानहरुमा फिल्मको छायांकन भइरहेको बताइएको छ।
साम्तेन भुटियाको निर्देशनमा आर्यनसँगै कलाकारद्वय माओत्से गुरुङ र भोलाराज सापकोटाले अभिनय गरिरहेका छन्। फिल्मलाई सुशन प्रजापतिले खिचिरहेका छन्। निर्माता अमृत घोले लामा पनि हङकङ पुगेका छन्।
फिल्ममा पुस्कर गुरुङ, मिरुना मगर, बबिता मल्ललगायतको अभिनय रहेको छ। कमेडी जनरमा निर्माण भएको फिल्मलाई सिजन दाहाल र सन्देश अर्यालले लेखेका हुन्। ‘एजीएल इन्टरटेनमेन्ट’को ब्यानरमा निर्मित फिल्ममा राजनराज सिवाकोटी र रोशन थापाको संगीत रहने छ।
पहिलो पटक कमर्सिअल फिल्म निर्देशन गर्न लागेका निर्देशक भुटियाले फिल्म रमाइलो बनाउने प्रयास गरेको बताउँछन्। नायक आर्यन पनि फिल्मको काम एकदमै रमाइलेसँग भइरहेको बताउँछन्। उनले भने, ‘रमाइलोसँगै काम राम्रो पनि भइरहेको छ।’ फिल्मको कामबाट सन्तुष्ट छु।’