केही दिन अगाडी मात्र ४६ औं जन्मदिन मनाएकी मनिषा कोइराला बलीउडकी सफल अभिनेत्री हुन् । १९८९ मा प्रदर्शनमा आएको नेपाली चलचित्र ‘फेरी भेटौँला’ बाट अभिनय यात्रा सुरु गरेकी मनिषाले १९९० मा बलीउड फिल्म ‘सौदागर’ बाट हिन्दी चलचित्रमा डेव्यू गरेकी थिइन । मनिषाले नेपाली र हिन्दी मात्र होइन तामिल, तेलेगु, मलाअलम चलचित्रमा पनि काम गरेकी छिन् । ‘दिल से’, ‘खामोसी’, ‘मन’ जस्ता सुपरहिट फिल्मबाट आफ्नो बेग्लै पहिचान बनाएकी नेपाली मूलकी बलिउड नायिका मनिषा कोइराला लामो समयपछि बलीउडमा पुनरागमन गर्दैछिन् । क्यान्सरलाई जितेर पुन बलीउड फिल्ममा सक्रिय हुन लागेकी उनी ‘डियर माया’ बाट बलिउडमा फिर्ता हुँदैछिन् । स्रोतका अनुसार उनलाई केही दिन अघि दिल्लीको चिडियाघरमा फिल्मको सुटिङ गरिरहेको देखियो । फिल्म बारे सोध्दा उनले आफूलाई फिल्मको कथाले आकर्षित गरेको बताइन् । यो फिल्म उनले जीवनको अर्को पाटो नभई आफू सधैं बलिउडमा नै रहेको र वर्षमा एउटा फिल्ममा अभिनय गर्ने स्पष्ट पारिन् । योसँगै उनका केही बलीउड फिल्म र एक तामिल फिल्म पनि प्रदर्शनका लागि तयार भएर बसेका छन् ।