असार २० गते रिलिज हुने भनिएको फिल्म ‘सानो मन’ले आफ्नो रिलिज मिति हेरफेर गरेको छ। प्रविधिक काम नसकिएको भन्दै फिल्म एक साता पछाडि सरेको छ। अब भने फिल्म असार २७ गते रिलिज हुनेछ।
निर्माता राजेन्द्र मानन्धर भन्छन्, ‘हतारमा नराम्रो फिल्म रिलिज गर्नुभन्दा प्राविधिक सुधार गरी एक साता ढिलो आउन लागेका हौँ।’
सुयोग गुरुङको डेब्यू निर्देशनमा तयार भएको यस फिल्ममा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतको अभिनय रहेको छ।
ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो फिल्म निर्माण भएको हो। सुयोग गुरुङ र मिलन श्रेष्ठको सम्पादन रहेको फिल्मको भिएफएक्स नगेश कँडेलले गरेका छन्। समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको यस फिल्मलाई आलोक शुक्लाले छायांकन गरेका छन्।
काठमाडौं, भैरहवा, बैंकक लगायतका ठाउँहरुमा छायांकन भएको यस फिल्मका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के. मित्तल र राजेन्द्र मानन्धर हुन्। रीत बोहरा मुख्य सहायक निर्देशक हुन् प्रोडक्सन डिजाइनर यम ओली हुन्।