लामो समयदेखि फिल्म सम्बन्धि अध्ययन गराउँदै आएको कान्तिपुर फिल्म एकेडेमीले फिल्म निर्माण गर्ने भएको छ। सोमबार राजधानीमा एक कार्यक्रमबीच एकेमेडीको निर्माण रहने फिल्म ‘म’को औपचारिक निर्माण घोषणा गरिएको छ। फिल्मलाई परिच्छेद सेनले निर्देशन गर्नेछन्। उनले पहिलो पटक फिचर फिल्म निर्देशनमा हात हाल्न लागेका हुन्।
कान्तिपुर फिल्म एकेडेमीका सिइओ प्रकाश पुरीले तयार पारेका कथामा आधारित भएर बन्ने फिल्मको छायांकन भदौ पहिलो साताबाट सुरु हुने बताइएको छ। उनभ श्रेष्ठ र सम्पन्न ढकाल बाल कलाकार रहने फिल्ममा विजय लामा, सरिता लामिछाने, रेवती क्षेत्री, कुशुम गुरुङ, रेविका गरुङ, अनिल कँडेल, संजोग रसाइलीलगायतका कलाकारहरुको अभिनय रहनेछ।
सहायक भूमिकामा पवन भट्टराई, श्याम सुन्दर घिताल, उत्तम राई, गौरव मल्लको अभिनय रहने कार्यक्रममा जानकारी गराइयो। विजय लामा र सरिता लामिछाने बाहेक यो फिल्ममा अभिनय गर्ने अन्य कलाकारहरु कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गरेका तथा प्रशिक्षण लिएका विद्यार्थीहरु हुन्। तेन्जिन पाल्देनले फिल्म खिच्ने जिम्मेवारी पाएका छन्। उनी पनि उक्त एकेडेमीका पूर्व विद्यार्थी हुन्।
‘म’ मा जितेन लेप्चाको गीत रहनेछ। फिल्ममा कवितामाथि पनि संगीत भरिने बताइएको छ। सम्भवतः नेपाली फिल्ममा यो पहिलो पटक फरक प्रयोग गरिन लागिएको हो। बरिष्ठ सञ्चारकर्मी तथा निर्देशक भुषण दाहालले कवितामा आफ्नो आवाज भर्नेछन् भने संगीत किरण भुषालले दिनेछन्। फिल्मको मुख्य सहायक निर्देशकमा आकाश उखेडा रहेका छन्।
फिल्मका लेखक समेत रहेका प्रकाश पुरीले विद्यार्थीलाई हौसला प्रदान गर्न पनि एकेडेमीले फिल्म निर्माण गर्न लागेको बताए। फिल्म ‘म’ लाई केही पृथक बनाउने प्रयास आफ्नो रहने निर्देशक सेनको भनाई। अभिनेत्री द्वय कुशुम र रेविकाले आफूले अध्ययन गरेको एकेडेमीले निर्माण गर्न लागेको फिल्ममा अभिनय गर्नका लागि निकै उत्साहित रहेको बताए।