एक समय नायक रमेश उप्रेतीको पनि दबदबा थियो नेपाली चलचित्रमा । डान्सिङ हिरोको रुपमा नेपाली चलचित्रमा भित्रिएका रमेशले आफ्नो समकालिन नायक श्रीकृष्ण श्रेष्ठसँग खुबै प्रतिस्पर्धा गरे । त्यति बेला श्रीकृष्णलाई रमेश उप्रेतीको आगमन हुनुभन्दा अगाडी टक्कर दिने सायदै थिए । एक समय रमेश उप्रेतीको इन्ट्रीले श्रीकृष्णलाई समेत ओझेलमा पारेको बुझिन्छ । तर लगातार आफुले अभिनय गरेको चलचित्रहरु सफल हुँदै गर्दा उनी अमेरिका हानिए । लामो समय अमेरिका बसाईपछि पुन रमेश उप्रेतीले नेपाली चलचित्रमा कमब्याक गरेका छन् । उनले अभिनिय गरेको कमब्याक चलचित्र ‘ब्रासलेट’ यही भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । तर जुन समय रमेश उप्रेतीले नेपाली चलचित्रमा डेव्यू गरेका थिए त्यो समय र अहिलेको चलचित्र बजार विल्कुलै फरक भइसकेको छ ।
लामो समय भइसक्यो नेपालमा चलचित्रले राम्रो व्यापार गर्न छोडेको पनि, त्यसैले रमेशको कमब्याकलाई लिएर अहिले धेरै कुराहरु चलिरहेका छन् । ५ बर्षपछि पुन नेपाली चलचित्र ‘जय परशुराम’बाट कमब्याक गरेका विराज भट्ट र केही बर्षको अन्तरालपछि पुन नेपाली चलचित्र ‘भैरव’बाट कमब्याक गरेका निखिल उप्रेतीले जसरी सफलता पाए त्यो अनुसार रमेशले पाउँलान वा नपाउँलान् ? यो प्रश्न अहिले सबैको चासोको विषय बनेको छ । लामो समय अमेरिका बसाईपछि नेपाली चलचित्रमा फर्किएका रमेशलाई नयाँ पुस्ताका धेरै दर्शकले राम्रोसँग चिन्न पनि छोडिसकेका छन् । ब्रासलेटमा अभिनय गरेका रमेश उप्रेतीले यो चलचित्र प्रदर्शन भएसँगै ‘ऐश्वर्य’ नामक चलचित्र पनि निर्माण गर्दैछन् । जसका लागि नायिकाको छनौट समेत गरिसकिएको छ । चलचित्र निर्माण र अभिनयमा सँगै हात हालेका रमेशको कमब्याक कस्तो रहला त्यो हेर्न भने केही दिन कुर्नै पर्नेछ ।