फिल्म ‘बुलबुल’मा चोपेन्द्रको भूमिकामा अभिनय गरेर चर्चा कमाएका अभिनेता मुकुन भुषालले नयाँ फिल्म ‘अन्तरे’मा पनि अभिनय गर्ने भएका छन्। सत्यराज चौलागाईंले निर्देशन गर्ने यस फिल्ममा उनले अन्तरे अर्थात प्रमूख भूमिका निर्वाह गर्ने भएका हुन्।

यसै सातामात्र निर्माण पक्ष र मुकुनबीच लिखित सम्झौता भएको हो। उनले आफ्नो समय र टीम दुबै मिल्ने भएका कारण फिल्ममा काम गर्न तयार भएको मुकुनले बताए। ‘बुलबुलबाट मैले पाएको माया दर्शकबाट नमरोस भनेर मैले धेरै स्क्रिप्ट पढिरहेको थिएँ। त्यहि बिचमा यो फिल्मको पनि पाएँ। मैले जे खोजेको थिएँ त्यहि यसमा पाएँ’ मुकुनले भने, ‘मैले मेरो आफ्नो पात्र मात्र हेरिन, पुरै स्क्रिप्ट पढेँ। स्क्रिप्टमा जे लेखिएको छ पुरै फिल्ममा देखाउन सकिने गरि लेखिएको छ। समग्रमा ‘अन्तरे’ नेपालमा चाहिएको जस्तै फिल्म बन्नेछ।’
फिल्मका अन्य कलाकारको छनोटको काम भइरहेको निर्देशक चौलागाईंले बताए। ‘रेड आइज फिल्म्स’को ब्यानरमा निर्माण हुन लागेको यो फिल्ममा राज पण्डित र सुबास राईले लगानी गर्दैछन्। फागुनको पहिलो साताबाट फिल्मको छायांकन सुरु हुनेछ।