
मंसिर २८ गते बूढानीलकण्ठमा कारको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको लामो समय बितिसक्यो। बा १४ च ६१२३ नम्बरको कारको ठक्करबाट गोरखाकी लीला देवकोटाको ज्यान गएको थियो। आज उक्त घटना भएको २५ दिन बित्यो।
उक्त दुर्घटना भएको गाडीमा नायिका परमिता राज्यलक्ष्मी राणा पनि सवार रहेको अपुष्ट खबरहरु त्यसै समय आएका थिए। तर, यस विषयमा न परमिता बोलिन न प्रहरी नै बोल्यो। सब चुप थिए।
यस्तैमा, बुधबार नायिका राणाको फेसबुकमा लामो स्टाटस आयो। उक्त स्टाटसबाट उनले आफू उक्त गाडीमा सवार भएको स्विकारेकी छिन्। उक्त घटनापछि के बोल्ने के नबोल्ने भएकाले आफू चुप रहेको उनले लेखेकी छिन्। उनले उक्त घटनापछि आफू विक्षिप्त बनेको भन्दै उनले आत्महत्याको सोचसमेत आएको उल्लेख गरेकी छन्।
रणाका अनुसार गाडी हाँक्ने पृथ्वी मल्ल उनका सामान्य साथी हुन्। सोही साथीको खाजा खाने प्रस्तावलाई स्विकारेर उनी सँगै गएकी थिइन्। त्यस रात उनीहरु सँगै ‘नाइट आउट’मा थिए भन्ने आशय उनको स्टाटसबाट पत्तो पाउन सकिन्छ।
उनले लेखेकी छिन्, ‘म एकदमै आत्तिएकी थिएँ। मानिसहरु ममाथि आइलाग्न सक्ने अवस्था देखेर एक स्थानीयले मलाई आफ्नो बाइकमा बस्न आग्रह गरे, र मलाई भगाए।’ त्यहाँको स्थानियले सोध्दा आफूले कारभित्र रहेको कुरा भनेकी उनले लेखेकी छिन्।
घटनापछि आफूले पारिवारिक वकिललाई भेटेर सुझाव मागेको उनले बताएकी छन्। वकिलले दिएको सुझावअनुसार सामाजिक सञ्जालका अकाउन्ट निस्क्रिय पारेर बसेको उनको भनाई छ।
गाडी चालक पृथ्वी मल्लले मादक पदार्थ सेवन गरेको पुष्टि भएको छ। प्रहरीकाअनुसार गाडीमा मल्लसहित परमिता, करिश मास्के र एलिना थापा सवार थिए।