काठमाडौं । जिल्ला अदालत काठमाडौंले म्युजिक भिडियोमा राष्ट्रिय झण्डा जलाउने मुख्य आरोपी ग्याल्जोम दोर्जे तामाङ्गलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ। पक्राउ परेका नौ जनामध्ये मुख्य आरोपी गेल्जङ दोर्जे तामाङलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको हो। त्यस्तै, म्युजिक भिडियो बनाउन संलग्न आठ जना भने रिहा भएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक एसपी सोमेन्द्र सिंह राठौरले जानकारी दिए।
मुलुकी अपराध संहिता २०७४ अनुसार राष्ट्रिय गान वा राष्ट्रिय झण्डाको अपमान वा क्षति गर्नु हुन्न । कसैले राष्ट्रिय झण्डाको अपमान गरेमा कानुन अनुसार ३ वर्ष कैद सजाय, ३० हजार जरिवाना वा दुबै हुन सक्नेछ। तथापि मुख्य आरोपी ग्याल्जोम दोर्जे तामाङ्ग बाहेक तीन जना १५-१५ हजार धरौटी बुझाएर छुटेका छ्न भने अन्य साधारण तारेखमा छुटेका हुन्। अदालतले यस मुद्दाको अन्तिम फैसला भने गर्न बाँकी छ।
भदौ १ गते एक युट्युव च्यानलमार्फत् ‘देशद्रोही’ नामको म्युजिक भिडिओ सार्वजनिक भएको थियो। म्युजिक भिडिओ सार्वजनिक भए लगत्तै त्यसको चौतर्फी विरोध भएपछि प्रहरीले यसमा संलग्न गायक तामाङसहित नौ जनालाई पक्राउ गरेको थियो। उक्त म्युजिक भिडिओ मकवानपुरको बागमती गाउँपालिका-३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको थियो।