लामो समय अमेरिका बसाईपछि ‘ब्रासलेट’ बाट नेपाली चलचित्रमा कमब्याक गरेका नायक रमेश उप्रेतीको यो चलचित्र भदौ १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदै छ । केही बर्षपछि नेपाली चलचित्रमा कमब्याक गरेका नायकहरुको सुखद यात्रा देखिरहेको अबस्थामा रमेश उप्रेतीको कमब्याक कस्तो होला त्यो भने भदौ १७ पछि नै थाहा हुनेछ । तर उनले केही महिना अगाडी नै चलचित्र ‘ऐश्वर्य’ निर्माण गर्ने बताइसकेका छन् ।
चलचित्र ब्रासलेट रिलिज भएपछि आधिकारीक निर्माण घोषणा गर्ने तयारीमा रहेका रमेश उप्रेतीले केही दिन अगाडी मात्र मुख्य भुमिकामा दीपिका प्रसाईलाई फाइनल गरेका थिए । तर दीपिकाभन्दा अगाडी चलचित्रमा केकी अधिकारी फाइनल भइसकेकी थिइन । दुई नायिका हुने बताइएको चलचित्र ‘ऐश्वर्य’ मा अब केकी अधिकारी भने नहुने लगभग पक्का भएको छ ।
दीपेन्द्र लामाले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘घामपानी’ व्यस्त हुने भएका कारण केकी अधिकारीले चलचित्र ‘ऐश्वर्य’ मा काम गर्न नसक्ने भएकी हुन् । तर यस विषयमा भने निर्माणपक्षले कुनै पनि जानकारी दिएको छैन । निर्देशक दीवाकर भट्टरार्इले निर्देशन गर्ने यो चलचत्रमा केकीको ठाउँमा वर्षा राउत देखिने खबर पनि बाहिर आएको छ । वैष्णोदेवी फिल्मको ब्यानरमा बन्ने यो चलचित्रमा अभिनेताद्धय अर्जुन श्रेष्ठ र निर्मल शर्मा निर्माता रहनेछन्। चलचित्रमा रमेश, दीपिकासँगै प्रशान्त ताम्राकारको पनि मूख्य भुमिकामा रहनेछ । भदौको अन्तिम साताबाट यो चलचित्रको छायाँकन सुरु हुँदैछ । चलचित्रको हाल वर्कशप चलिरहेको छ ।