मुम्बई(एजेन्सी) । दक्षिण भारतीय सुपरस्टार सूर्या हालका दिनमा समस्यामा फस्दै आएका छन् । सैदापेट अदालतले चेन्नई प्रहरीलाई सूर्या, उनकी श्रीमति ज्योतिका र फिल्म ‘जय भीम’ निर्देशक टीजे ज्ञानवेलविरुद्ध एफआईआर दर्ता गर्न निर्देशन दिएको छ ।
रुद्र वन्नियार सेना नामको एक वन्नियार समूहले सूर्या, ज्योतिका र टीजेका विरुद्ध उजुरी दर्ता गराएको थियो । यो समूहले उजुरीमा फिल्मका कैयौं दृश्यले वन्नियार समुदायको बदनाम गरेको आरोप लगाएका छन् ।
यसअघि वन्नियार समुदायले फिल्मको रिलिजको समयमा पनि फिल्ममाथि रोक लगाउन माग गरेका थिए । उनीहरुले आफ्नो समुदायलाई ५ करोड जरिमाना दिन माग गरेका थिए । यो बिना शर्त हुनुपर्ने उनीहरुको माग थियो । यद्यपि फिल्मलाई फ्यानले निकै मनपराएका थिए । यो फिल्मले ओस्कारमा भारतको प्रतिनिधित्व नै गरेको थियो ।
यो फिल्म गत वर्षको नोभेम्बर २ मा अमेजन प्राइम भिडियोमा रिलिज भएको थियो । यो फिल्मले इरुलर समुदायका सदस्यलाई हिरासतमा दिइएको यातनाबारे थियो । शुरुवाती दिनमा हिन्दी भाषी दर्शकले फिल्मको एक दृश्यमा आपत्ति जनाएका थिए । जसमा प्रकाश राजले हिन्दीमा बोलेको भन्दै एक व्यक्तिलाई थप्पड मारेका थिए ।