
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली फिल्म क्षेत्रका लोकप्रिय अभिनेता सुनिल थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी छन् ।
अभिनेता थापाको निधनसँगै नेपाली र भारतीय फिल्म जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीले ‘चिनो’का राते काइँलादेखि ‘मेरी कोम’का प्रशिक्षकसम्ममा उनका खलनायक र सहनायकका उम्दा भूमिका करोडौँका मन जित्न सफल भएका बताएकी छन् ।
प्रधानमन्त्री कार्कीले शोक सन्देश जारी गर्दै कलाकार थापाका हरेक चरित्र हामी दर्शकका स्मृतिमा सदैव जीवित रहने बताएकी छन् । सन्देशमा उनले ‘चार दशकभन्दा बढी समयको उहाँको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहनेछ’, भनेकी छन् ।
प्रधानमन्त्रीले उनीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त, शुभेच्छुक तथा सम्पूर्ण कला क्षेत्रप्रति गहिरो समवेदना व्यक्त गरेकी छन् ।
अभिनेता थापाको हृदयघातबाट ६८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो ।

