
काठमाडौं । चलचित्र विकास बोर्डले सोमबार हलमा प्रदर्शनरत तीन फिल्म ‘आ बाट आमा’, ‘झरीपछिको इन्द्रेणी’ र ‘द ब्ल्यू लाइट’को बक्सअफिस कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । गत माघ १६ गतेबाट प्रदर्शनरत फिल्म ‘आ बाट आमा’ले ९ दिनमा ४ करोड ८० लाख ९० हजार ४८७ रुपैंयाँ ग्रस कलेक्सन गरेको छ । आइतबारसम्म फिल्मले ५ करोड २० लाख रुपैयाँ ग्रस गरिसकेको छ ।
चन्द्र पन्तको निर्देशनमा बनेको यस फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय रहेको छ । आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित फिल्ममा कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माता छन् ।
माघ १६ गते नै रिलिज भएको फिल्म ‘द ब्ल्यू लाइट’को कलेक्सन तीन लाख १९ हजार रहेको बोर्डले जनाएको छ । फिल्म रिलिजको तीन दिनमै निर्माण पक्षले फिल्मको रिलिज स्थगित गरिसकेका छ ।
बलिराम चौहान निर्देशित फिल्ममा बेनिशा हमाल, श्रृष्टि श्रेष्ठ र अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन् ।
त्यस्तै शनिबार मात्र प्रदर्शनको ५१ औं दिन मनाएको फिल्म ‘झरी पछिको इन्द्रेणी’ले १ करोड २९ लाख ५५ हजार ११९ मात्र कमाएको छ ।
अर्जुन घिमिरे ‘पाँडे’ निर्देशित फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, दीपाश्री निरौला, प्रकाश घिमिरे, सरिता गिरी, निर्मल शर्मा, देशभक्त खनाल, अर्जुन घिमिरे, प्रियना आचार्य लगायतको अभिनय छ ।



