
काठमाडौँ । आगामी फागुन १ गतेबाट रिलिज हुने फिल्म ‘श्री बुकुरोः द होम कलिङ’का कलाकारहरुले फिल्म प्रति आशावादी बताएका छन् । फिल्मकी प्रमुख कलाकार लक्ष्मी गिरीले फिल्मले अलग अलग विचारका परिवारलाई एकै स्थानमा उभ्याउने कथा बोकेको बताइन् । उनले यो फिल्म नेपाली समाजको यथार्थपरक ऐना भएको बताइन् ।
‘बाँचुन्जेलको आधार परिवार र मानिसलाई टाउको लुकाउने एउटा ‘बुकुरो’ अपरिहार्य छ’, उनले भनिन् ‘हामी अमिबा जस्तो भइसकेका छौँ, जो एक्लै हुँदा बलियो हुन सक्दैन । पहिला सानो घर हुन्थ्यो, तर धेरै परिवार मिलेर एउटै ओछ्यानमा सुत्थ्यौँ । अहिले घर ठुला छन्, तर कोठैपिच्छे मानिसहरू अलग सुत्छन्, कसैको मन एकताबद्ध छैन ।’
उनले फिल्ममा आफू एक बलियो आमा रहेको बताउँदै वास्तविक जीवनको अनुभवलाई पनि पात्रमा उतारेको जनाइन् । उनले हालसम्म पनि आफू संयुक्त परिवारमै बसिरहेकोले घरका सदस्यहरूबिचको सन्तुलन मिलाउन आमाको ठुलो योगदान हुने बताइन् ।
निर्देशक सुदीप भूपाल सिंहले फिल्मको शीर्षक ‘श्री बुकुरो’ को अर्थ ‘जीवन’ र ‘आश्रय’ वा ‘घर’ रहेको बताए । ‘यो फिल्म कुनै उपन्यास जस्तै साहित्यिक र दार्शनिक छ,’ उनले भने ।
अभिनेता आशीर्वाद क्षेत्रीले फिल्ममा कान्छो छोरा र आर्मी अफिसरको भूमिकामा रहेको खुलाउँदै आफूलाई नायक भन्दा पनि एउटा जिम्मेवार पात्रको रूपमा उभ्याएको बताए ।
अभिनेत्री निकिता आचार्यले आफ्नो पात्र अलिकति स्वतन्त्र र परिवारलाई माया गर्ने खालको रहेको खुलाइन् । उनले फिल्मले बाल्यकालको प्रेमदेखि परिपक्वतासम्मको यात्रालाई समेटेको जानकारी दिइन् ।
फिल्ममा लक्ष्मी, आशीर्वाद र निकिता सहित प्रतीकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय सङ्ग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय छ । रुबी सेन सिंह फिल्मकी निर्मात्री हुन् ।


